मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चारदलीय सहमति कहिले घाम कहिले पानी !

चारदलीय सहमति कहिले घाम कहिले पानी !


काठमाडौं । क्षणभरमा पानी पर्छ, क्षणभरमा घाम लाग्छ । सहमति त फेरि पनि हुने भो । तर, कतिखेर बाढी आउने हो र बगाउने हो थाहा छैन !
 
प्रमुख दलका शीर्षनेताहरु प्रदेशहरुको सीमांकनबारे सहमति गर्न जुटिरहेका बेला सभासद एवं एमाले नेता रविन्द्र अधिकारीले गरेको ट्वीट हो यो ।
 
यसले अहिले सहमतिका लागि भइरहेको वार्ता कुन अवस्थामा छ भन्ने देखाउँछ ।
 
सीमांकन विनाको संविधान स्वीकार्य नभएको भन्दै मधेस लगायतमा आन्दोलन सुरु हुन थालेपछि प्रमुख चार दल प्रदेशहरुको सीमांकनका लागि तयार भएका छन् । ८ प्रदेशलाई ६ मा झार्न समेत सहमत भएका छन् तर, प्रदेशहरुको सीमांकन अझै पनि फलामको चिउरा भन्दा कम भएको छैन ।
 
एक माओवादीले नेताले भने- ‘८ प्रदेशबाट ६ मा झर्‍यौं तर, सीमांकन निकै गाह्रो भइरहेको छ । जिल्लाहरुको कुरा मिलिसकेको छैन ।’
 
पूर्वको सल्टियो, पश्चिममा बहस
 
संघीयताको लामो बहसमा शीर्ष नेताहरुको स्वार्थ बाझिएपछि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर मुख्य विवादको केन्द्र बनेको थियो ।
 
पछिल्लोपटक एमाओवादी एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलाको मागअनुसार झापा, मोरङ, सुनसरीलाई पूर्वमा बन्ने पहाडी जिल्लासहितको प्रदेशमा राख्न सहमत भएको छ ।
 
अब पश्चिममा बहस छ । कञ्चनपुर सुदूरपश्चिममा बन्ने प्रदेशमा पर्ने पक्का भइसकेको छ । एमाओवादी र फोरम लोकतान्त्रिक थारु बाहुल्य क्षेत्रलाई मधेसमा बन्ने प्रदेशमा पार्न चाहन्छन् । तर, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र कांग्रेस नेता रमेश लेखक सिंगो कैलालीलाई पनि सुदूरपश्चिममै हुनुपर्ने अडानबाट टसमस भएका छैनन् ।
 
सप्तरीलाई कता राख्ने भन्नेबारे पनि दलहरुबीच सहमति हुन सकेको छैन । बैठकमा सहभागी एक नेताले भने(मुख्य विवाद कैलाली र सप्तरीमा छ । सहमतिका लागि हामी प्रयत्न गरिरहेका छौं । तर, केही निश्चित छैन ।’
 
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सप्तरीलाई पनि झापा, मोरङ, सुनसरीसँगै पूर्वी प्रदेशमा राख्नुपर्ने अडान लिएका छन् । यसो गर्न सके पूर्वमा बन्ने प्रदेशमा झापा, मोरङ र सुनसरीको मिलाउँदा मधेसी समुदायको प्रभाव रहने गच्छदारको विश्लेषण देखिन्छ ।
 
जनजातिको प्रश्न: संकट टार्ने कि सार्ने ?
 
चारदलले ६ प्रदेशका लागि सहमतिको प्रयास गरिरहँदा असन्तुष्ट मधेसी र जनजातिले नमान्ने बताइसकेका छन् । उपेन्द्र यादव, राजेन्द्र महतोसहितका दलहरुले झापा, मोरङ र सुनसरी मधेसमा हुनु पर्ने माग गरेका छन् ।
 
स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डलगायतलाई झापा, मोरङ र सुनसरीलाई पहाडमा मिसाए मधेसमा आगो बन्छ भन्ने धम्की आइसकेको छ ।
 
आदिवासी जनजातिहरुले पनि एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर जातीय क्लस्टरहरु बिगारिएको भन्दै ६ प्रदेशको सहमति नमान्ने बताएका छन् ।
 
राज्य पुनःसंरचना आयोगका सदस्य एवं जनजाति अगुवा मल्ल के सुन्दर बाहिर चर्चामा आएको जस्तो ६ प्रदेशमै सहमति भए द्वन्द्वको बिउ रोपिने बताउँछन् । आफ्नो निर्वाचन क्षेत्र केन्द्रित रहेर सहमति गरिएको उनको आरोप छ ।
 
‘सीमांकन गरेर मधेसीको र पहाडलाई मधेससँग जोडेर पहाडी समुदायको मनोविज्ञानलाई सम्बोधन गर्न खोजेको देखिन्छ’ उनले भने भने(‘यसले तत्कालको आन्दोलन त मत्थर पार्ला तर, दिर्घकालमा द्वन्द्वको बिउ रोप्छ ।’