मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टीपीएस र अध्यागमन जेलमा रहेका १ सय ११ नेपालीको भविश्य – बासु फुलारा

टीपीएस र अध्यागमन जेलमा रहेका १ सय ११ नेपालीको भविश्य – बासु फुलारा


म धेरै राज्यहरुमा अध्यागमनका मुद्दाका सन्दर्भमा पुग्ने गरेको छु । झण्डै दुईदर्जन राज्यहरुमा अध्यागमनका मुद्दाका सन्दर्भमा म पुगेको छु । टेक्सासदेखि साउदर्न बोर्डरहुँदै बफेलोसम्मका कैयन अध्यागमन जेलहरुमा म पुगेको छु । हालै खसोखास साप्ताहिकमा प्रकाशित र खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले प्रदान गरेको तथ्यांक हेर्दा अमेरिकका अध्यागमन जेलमा रहेका नेपालीहरुको संख्या १ सय ११ रहेको छ । अमेरिकाका २९ वटा अध्यागमन जेलमा ती नेपालीहरु रहेका छन् । अध्यागमन जेलमा भएका अधिकांश नेपालीहरु मेक्सिकोको बाटोहुँदै गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिकामा आउनेहरु छन् । अध्यागमन जेलहरुमा पुगेर नेपालीहरुसँग कुराकानी गर्दा अधिकांशले मेक्सिकोबाट अमेरिकामा छिर्दै गर्दा पक्राउ परेको बताउने गरेका छन् । टेक्सासको सिमानादेखि एरिजोनाको सिमानासम्मबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा उनीहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुले आफू नेपालमा जान नसक्ने अवस्था भएकाले अमेरिका आएको कुरा हामीसँग बताउने गरेका छन् । उनीहरुका मुद्दाहरु अदालतमा पनि पेन्डिङ अवस्थामा रहेका हुन्छन् । कतिजना धरौटीमा रिहा भएका पनि छन् । धरौटीमा रिहा भइसकेपछि उनीहरुले आफ्नो स्थान परिवर्तन पनि गर्छन् । उदाहरणका लागि टेक्सासबाट अमेरिका छिरेकाहरु पक्राउ परेर धरौटीमा रिहा भएपनि न्युयोर्क आएर न्युयोर्ककै अदालतमा उनीहरुको मुद्दा सारेको पनि पाइन्छ । डिटेन्सन सेन्टर (अध्यागमन जेल) वरपर वा त्यो क्षेत्रमा बस्ने गरेको कमैमात्र देखिएको छ । मुख्य हब टेक्सास, एरिजोना लगायतका क्षेत्र भएपनि केही बन्दीहरुलाई न्युयोर्कको बफेलोमा पनि सार्ने गरेको छ ।
 
अध्यागमन जेलमा एकदुईजना बस्ने भन्ने हुँदैन । त्यहाँ सामुहिक रुपमा धेरै मान्छेहरुलाई राखिएको हुन्छ । त्यहाँ प्रदान गरिने खाना स्वास्थ्यवर्धक नै हुने सुनिने गरेको छ । जेलभित्र अरु खाले समस्याहरु भएपनि खानाबारे जेलभित्र रहेका नेपालीहरुले गुनासो गरेको मैले सुनेको छैन । मैले खानपिन र स्वास्थ्यउपचारबारे बेलाबेलामा सोध्ने पनि गरेको छु । उनीहरुले एउटै कोठामा धेरैजना हुँदा मिलेर बस्नुपर्ने र धेरैजना भएका कारण समस्या हुने गरेको बताएपनि खानाका बारेमा गुनासो गरेका छैनन् । तर जेल भनेको त जेल नै हो । बाहिरजस्ता् जेलभित्र स्वतन्त्रता हुने कुरा भएन । स्वास्थ्य र खानाका बारेमा नेपालीहरुले खासै कम्प्लेन गरेका छैनन् ।
 
युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले छापामार्दा भिसा अवधि भन्दा धेरै बसेका वा अध्यागमन कानुन उल्लंघन गरेकाहरु पनि पक्राउ पर्ने गरेका छन् । तर त्यसरी पक्राउ परेका नेपालीहरु थोरैमात्र छन् । अधिकांश सिमाक्षेत्रबाटै अमेरिका छिर्नेहरु रहेका छन् । नेपालीहरुको आपराधिक इतिहास त्यती धेरै देखिदैन । आइसले छापामार्दा वा कुनै राज्यमा कसैले अपराध गरेको छ भने बन्दीगृहमा राखिएका त्यस्ता नेपालीहरु १० देखि १५ प्रतिशत रहेका छन् । तर प्रायजसो बन्दीगृहमा रहेकाहरु अध्यागमन कानुनको उल्लंघन गर्दै सिमाक्षेत्रबाट छिरेकाहरु नै छन् । मेक्सिको लगायतका देशका व्यक्ति पटकपटक डिपोर्टेशनमा पर्दा पनि अमेरिका छिरेको इतिहास भएपनि प्रायजसो निरिक्षण विना छिरेकाहरु (ईडब्लुआई) का नेपालीहरुका सन्दर्भमा उनीहरुको पुरानो त्यस्तोखाले इमिग्रेशन इतिहास देखिदैन । नेपालीहरुले अपराध गरेको कमै रेकर्ड छ । उनीहरुलाई केहीसमय इमिग्रेशन जेलमा १५ सय देखि पच्चिस तीस हजार डलर सम्म धरौटी तोकेर रिहा गर्ने गरिएको पाइन्छ । यसरी धरौटीमा छुट्ने नेपालीहरु धेरै छन् । यदि उनीहरु धरौटीमा छुटेका छैनन् भने उनीहरुका लागि व्यक्तिगत सुनुवाईको मिति दिइन्छ । एसाइलम फाइल गरेका व्यक्तिलाई धरौटीमा रिहा गरिएन भने उनीहरुको अदालती सुनुवाई अलिक छिटो हुने गरेको पनि देखिएको छ । नेपाललाई अमेरिकी सरकारले टीपीएस प्रदान गरिसकेपछि माहौल अलिकति नयाँ बनेको छ । हामीले जेलमा रहेका केही नेपालीको प्रतिनिधित्व गरेर टीपीएसका लागि आवेदन दिएका छौं । तर टीपीएस आउँदैमा अदालतबाट छुट्ने भन्ने नहुन सक्छ । न्यायाधिसले त्यसबारे समझदारी त गर्न सक्छ । तर न्यायाधिसलाई टीपीएस दिने अधिकार हुँदैन । टीपीएसबारे काम गर्ने होमल्याण्ड सेक्युरिटी अन्तरगत युएससीआईएसले हो ।
 
अध्यागमन जेलमा कोही नेपालीहरु छिट्टै छुट्छन् भने कोही महिनौंसम्म पनि छुट्न सकेका हुँदैनन् । यो मुद्दाहरुमा भरपर्छ । कतिपयको अध्यागमन इतिहासमा कुनै खराबी नहुँदानहुँदैपनि धरौटीमा रिहा नगरेका घटनाहरु छन् । अध्यागमन जेलमा राख्नुको अर्थ मुद्दा लम्बाउने भन्ने होइन । कानुनी रुपमा पनि अध्यमगन जेलका मुद्दाहरु अत्यन्तै छिटो हेर्ने गरिएको छ । औंठाछाप लिएर पृष्ठभूमी परिक्षण गर्दा पनि अध्यागमन जेलमा बाहिरजस्तो ढिलो हुँदैन । कुनै अवस्थामा १ वर्ष वा त्यो भन्दा पनि ढिलो अवधीसम्म नेपालीहरुलाई अध्यागमन जेलमा राखिएको पाइन्छ । तर अध्यागमन जेलमा त्यहाँभित्रको खाना खुवाएर धेरै समय राख्ने सरकारी अवधारण होइन । यदि कोही व्यक्ति आपराधिक मुद्दामा छ, अध्यागमन इतिहास खराब छ भने जेलभित्र राख्ने अवधि लम्बिन पनि सक्छ । धरौटीमा रिहा गर्नका लागि अनुरोध गरिएपछि कतिपयलाई त पैसा नलिइकनै पनि रिहा गरिएको पाइन्छ । धरौटीमा रिहा गरिएन भने र त्यो व्यक्ति एसाइलमका लागि योग्य छ भने एसाइलमको आवेदन दिन सक्छ । एसाइलमको मुद्दा जितेमा विना धरौटी ग्रिन कार्ड नै पाउनेगरी रिहा गरिन्छ । तर एसाइलमका लागि योग्य नभएमा वा एसाइलमको मुद्दा हारेमा उसलाई डिपोर्ट गरिन्छ ।
 
अहिले अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जा प्रदान गरिसकेपछि अध्यागमन जेलमा रहेका नेपाली बन्दीहरु पनि टीपीएसको आवेदनका लागि योग्य भएका छन् । तर उनीहरुले टीपीएसका लागि प्रकृया अपनाउनुपर्छ । टीपीएसको दर्जा प्रदान गर्नासाथ म टेक्सासको सिमाक्षेत्रमा रहेका जेलमा रहेका नेपालीहरुलाई भेट्न गएको थिएँ । हामीले इमिग्रेशन जेलमा रहेका कैयन नेपालीका टीपीएस केसको प्रतिनिधित्व गरिरहेका छौं । जेलमा रहेका कैयन नेपालीहरुलाई पनि रिहा गर्न थालिएको छ । टीपीएस आवेदनबारे अन्तिम निर्णय नभएपनि जेल प्रशासनले टीपीएसको अवधारणालाई मान्यता दिदै आवेदन दिएका नेपालीहरुलाई रिहा गर्न थालेको छ ।
 
जेलमा रहेका नेपालीले टीपीएस आवेदन नदिएमा त्यो व्यक्ति धरौटीमा छुटेपछि उसको मुद्दाबारे फैसला हुन्छ । मुद्दाको फैसलापछि धरौटीबापत राखेको रकम फिर्ता पाउन सकिन्छ । धरौटीको सुनुवाई र एसाइलमको सुनुवाई फरक फरक हुन्छ । कुनै पनि बन्दीको वकिलले धरौटीमा छुटाउनका लागि आवेदन दिनसक्छ । अफिसरले धरौटीमा रिहा गर्न अस्वीकार गरेमा त्यो मुद्दा अदालतमा जान्छ । त्यतीबेला धरौटीको सुनुवाईमा न्यायाधिसले पनि धरौटीमा रिहा नगर्ने फैसला गरेमा व्यक्ति बन्दीगृहभित्रै बसिरहनुपर्छ । धरौटीमा रिहा गर्ने फैसला भएमा धरौटी राखेर व्यक्ति रिहा हुन्छ । धरौटीमा रिहा भएको व्यक्तिले एसाइलम वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएमा उसलाई देश निकालाको फैसला हुन्छ । तर अहिले टीपीएसका लागि आवेदन दिएमा र त्यस्तो आवेदन स्वीकृत भएमा भने उसले टीपीएस अवधिभरका लागि अस्थायी सुरक्षा प्राप्त गर्छ । धरौटीमा रिहा भएपनि रिहा नभएपनि एसाइलम वा टीपीएस फाइल गरेको छैन वा फाइल गरेर पनि स्वीकृत भएन भने उसको भविश्य डिपोर्टेशन नै हो ।
 
(यो सामाग्री खसोखास साप्ताहिकमा प्रकाशित अन्तरवार्तामा आधारित छ । यसमा प्रदान गरिएका जानकारीहरु कानुनी सल्लाह होइनन् । कानुनी सल्लाह चाहिएको खण्डमा एटर्नी बासु फुलारालाई उहाँको इमेल [email protected] वा फोन नम्बर 718 440 5754 मा सम्पर्क गर्न सकिनेछ ।- सम्पादक)