काठमाडौँ । हालै निधन भएका भारतका पूर्व राष्ट्रपति एपिजे अब्दूल कलामले गतवर्ष आफ्ना विद्यार्थीहरू माझ एउटा प्रश्न गर्नुभयो– तिमीहरू मलाई कुन रुपमा चिन्न चाहान्छौँ ? विद्यार्थीको उत्तर एकपछि अर्को गर्दै आयो– भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक, आणविक वैज्ञानिक, लेखक, विद्धान, दार्शनिक, गरिब परिवारमा जन्मे हुर्केर देशको सर्वोच्च पदमा पुगेको व्यक्ति आदि ।
उत्तर आइरहदा उहाँको निधारमा गाँठो परिरहेकै थियो । त्यस समय उहाँ विभिन्न ओहदा, प्रतिष्ठा र पदमा राष्ट्रको लगभग उच्चस्तरमा नै पुगिसकेका विद्यार्थीहरू माझ हुनुहुन्थ्यो उहाँ । उहाँको मुहारको स्वरुप हेरेर ती विद्यार्थीहरू आफ्ना गुरुले आफूहरूबाट सही उत्तर पाउन नसकेको अनुमान सहजै गर्दै थिए ।
उहाँले आफ्नो जीवनमा प्राप्त गरेका अत्यन्तै उच्च एवम् सार्वजनिक पद र उपाधि भनिसक्दा पनि गुरु सन्तुष्ट नभएपछि विद्यार्थीहरूले अन्तरमनले गुन्दैथिए थप उत्तरका लागि । यत्तिकैमा कलामले रोक्नुभयो र सुझाउनुभयो– यदी तिमीहरू मलाई सम्झिन र वास्तविक रुपमा चिन्न चाहान्छौँ भने एउटा शिक्षकका रुपमा मात्र चिन, एउटा साधारण शिक्षक ।
यो उत्तरपछि विद्यार्थीहरुले अनौठो मान्दै थिए । उहाँले थप्नुभयो– शिक्षक नै एउटा यस्तो व्यक्ति हो जसले यो संसार बदल्छ र संसार बदल्ने मानिसलाई विद्यार्थीका रुपमा पुनर्जन्म दिन्छ । उहाँले समय क्रममा जे–जस्ता सार्वजनिक पद र ओहदा ग्रहण गर्नुभए पनि शिक्षक भएरै चिनिन रुचाउनुभयो र त्यसैमा रमाउनुभयो । यसरी शिक्षकका रुपमा संसारको जुनसुकै स्थानमा पुगेपनि उहाँले भन्नुहुन्थ्यो एउटा शिक्षकले समाजलाई मात्र होइन संसारलाई बदल्छ, देशमात्र होइन विश्वलाई नै सिकाउँछ अथवा पढाउँछ ।
यस्तो साधारण जीवन र उच्च विचारका धनी कलामले यसैहप्ता संसार छोड्नुभयो । नभन्दै नियतिले पनि सायद उहाँको मन्को धोको पु¥याइदिएको हुनुपर्छ किनभने उहाँको देहान्त पनि लगभग विद्यार्थीकै माझमा भएको छ । गत सोमबार भारतको सिलोङ्मा शिक्षण गरिरहँदा ढल्नुभएको उहाँ त्यसपछि उठ्नुभएन । एउटा शिक्षककै कर्तव्य र भूमिकामै उहाँले यो संसारमा आफूले आफैलाई तोकेको खटन पूरा गरेर अर्को संसारका लागि बिदा लिनुभयो ।
वास्तवमा कलाम भारतीय युवा पङ्तिका एक असल र सकारात्मक सोँचका गुरु हुनुहुन्थ्यो । उहाँले सधैँ भारतका युवाहरूलाई जगाइरहनुभयो सपना देख्न । उहाँ भन्नुहुन्थ्यो– सपना हरेक व्यक्तिले निदाउँदा देख्ने वस्तु होइन, सपना त यस्तो वस्तु हो जसले मानिसलाई निदाउनै दिँदैन । यसरी हरेक मानिसलाई ननिदाइकनै अथवा विपनामै सपना देख्न सिकाउनुहुन्थ्यो । उहाँले जिवनमा केही गर्ने सपना देख्ने व्यक्ति नै सफल हो भन्ने प्रेरणा साधैँ दिनभयो । त्यसैले उहाँप्रति हरेक युवा उत्प्रेरित हुन्थे ।
भारतजस्तो संसारकै एक ठूलो प्रजातन्त्र भनिएको देशको सर्वोच्चस्थान राष्ट्रपतिमा पुगेका कलाम राष्ट्रपति भएकै बखत पनि विद्यार्थी युवाहरूसँग रमाउन चाहनुहुन्थ्यो । एकपटक राष्ट्रपति छँदा बिहार पुग्नुभएका उहाँलाई एक विद्यालयको छात्रले प्रश्न सोधे– राष्ट्रपति महोदय के यो देशबाट भ्रष्टाचार निर्मूल गर्न सकिँदैन ? उहाँले आफू त्यस प्रश्नबाट अत्यन्तै भावुक एवम् प्रेरित भएको अनुभव आफ्ना पुस्तकहरूमा चर्चा गर्नुभएको छ ।
विद्यालयस्तरमा अध्ययनरत एक बालकले उठाउनुपर्ने समाजको तल्लो तहसम्म भ्रष्टाचारका हाँगाबिगा कसरी फैलिए भनेर समाज र देशका सञ्चालकहरुले सोच्नुपर्ने प्रसंग उहाँले बडो जोडतोडका साथ उठाउनुभएको थियो । युवा र बालबालिकामा गरेको लगानीले मात्र देश बनाउन सक्छ भन्ने स्प्रष्ट धारणा थियो उहाँको । त्यसैले आफूलाई फुर्सद मिल्यो कि विद्यार्थी माझ पुगिहाल्नुहुन्थ्यो र यस्तै प्रेरणाका खुराक दिनुहुन्थ्यो ।
कामलाई माया गर्नुपर्छ भनेर सधैँ वकालत गर्ने उहाँ मजदुरहरुका पनि प्ररेणा बन्नुभयो । उहाँले सधैँ हरेक व्यक्तिलाई काम गर्न प्रेरित गर्नुहुन्थ्यो । उहाँले एउटा ठूलो कारखानाका मजदुरहरूलाई सम्बोधन गर्दा भन्नुभएको ‘कम्पनीलाई होइन कामलाई माया गर’ भन्ने भनाईलाई त भारतका समग्र कर्मचारी एवम् मजदुरले एक विशेष उद्गार एवम् उदारणका रुपमा नै आत्मसात गरेका थिए । उहाँको भनाई थियो– कम्पनीलाई होइन कामलाई माया गर, यदी कम्पनीलाई मात्र माया ग¥यो भने तिमीलाई कम्पनीले माया गर्न छोडिसकेको पनि हुनसक्छ, त्यो तिमीलाई पत्तै हुदैन ।
उहाँ एकजना सफल ‘मिसाइल’ वैज्ञानिक हुनुहुन्थ्यो । त्यसैले उहाँलाई ‘मिसाइल म्यान’ को उपाधि पनि दिइएको थियो । त्यस समय उहाँजस्तो शक्तिशाली, सफल एवम् प्रतिभाशाली वैज्ञानिकहरू भारतमा बस्न रुचाउँदैनथे । यस्ता अब्बल दर्जाका प्रतिभाहरू युरोप, अमेरिका नै पुग्थे र उतै घरजम पनि गर्थे । तर उहाँले आफ्नो सफलताका कथाहरू आफ्नो माटोमै खोज्नुभयो । आफ्नो सफलता आफ्नै मातृभूमिको माटोमा खोज्ने अत्यन्तै दुर्लभ प्रतिभामा पर्नुभयो उहाँ र उहाँको यो दृढ निश्चयले पनि भारतका कयौँ प्रतिभालाई आफ्नै माटोमा केही गर्न प्रेरित गरेको थियो ।
उहाँले जतिसुकै शक्तिशाली अस्त्र या बमको आविष्कार र विकास गरेको भए पनि उहाँको विचार नै त्यो भन्दा हजारौँ गुण शक्तिशाली थिए भन्ने चर्चा यतिखेर भारतीय सञ्चारमा गरिँदैछ । कतिपय सञ्चारमाध्यमहरूले त भारतका सबैभन्दा लोकप्रिय राष्ट्रपति अथवा महात्मगान्धी पछि विचारले मानिसमा परिवर्तन गर्नसक्ने खुवियुक्त प्रतिभाका रुपमा पनि तुलना गरेका छन् । त्यसैले उनलाई ‘शस्त्र बनाउने दार्शनिक’ का रुपमा पनि हेरेका छन् ।
उहाँ असफलताभित्र सम्भावना र सिकाई खोज्नुहुन्थ्यो । सफलताका कथाको प्रचारमा उहाँले कहिल्यै विश्वास पनि गर्नुभएन । उहाँ भन्नुहुन्थ्यो –सफलताका कथामा उदाहरण बाहेक केही पाइदैँन, त्यसैले तिनको प्रचार गरेर भन्दा असफल व्यक्तिका अप्ठेराबाट धेरै मानिसलाई प्रेरित गर्न सकिन्छ । बरु असफलताभित्र ठूलो सन्देश र सफलताका सुत्रहरू छन् भन्नुहुन्थ्यो उहाँ । त्यसैले असफलता (फेलियर) बाट सफल हुने सुत्र भेटिन्छन् । आफ्नो उद्देश्य र कर्ममा कहिल्यै ‘फेल’ हुनु नपरेको उहाँले असफलताबाट सफल बन्ने उपाय खोज्न सदैव सुझाउनुहुन्थ्यो ।
उहाँको जीवनप्रतिको सबैभन्दा ठूलो इष्र्या मानिसहरूले उहाँको सरलता र भद्रताप्रति गर्थे । सरल र साधारण व्यक्ति भएर चिनिनु नै उहाँको जीवनको एउटा अति महत्वपूर्ण पक्ष हो । उहाँले आफ्ना कामको प्रचार कहिल्यै गर्नुभएन । आफ्नो जीवनका अधिकांश समय पढाएरै अथवा बोलेरै बिताउनुभएका उहाँले मैलो यो काम गरेँ भनेर कहिल्यै पनि प्रचार गर्नु भएन ।
जुलाई २९ को संस्करणमा भारतीय एक दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले जनताका राष्ट्रपति शीर्षकमा सम्पादकीय लेखेको छ । त्यसमा उसको भनाई छ –कलाम सम्भवत भारतका सबैभन्दा लोकप्रिय राष्ट्रपति हुनुहुन्थ्यो र उहाँको सरलता, विनम्रता, साधारण रहन–सहन र उत्साह र सदा सकारात्मक सोँच उहाँको सबैभन्दा राम्रो पक्ष थियो ।
गरिब परिवारमा जन्मिएका एकजना सर्वसाधारण नागरिक आफ्नो सरल सोँच र व्यवहारबाटै शिक्षादीक्षा ग्रहण गरी यति उच्च पदसम्म पुग्नु उहाँको ठूलो सफलता थियो । तर उहाँले आफूलाई कहिल्यै ठूलो एवम् उच्च ओहदाको नागरिकका रुपमा चिनाउन चाहानु भएन । उहाँले भारतको ‘मिसाइल म्यान’को उपाधि नागरिकबाटै पाउनुभयो तर उहाँका वाणीहरू नै यस्ता मिसाइल भन्दा कयौँगुणा शक्तिशाली छन् भन्ने चर्चा पनि नागरिक नै गरे ।
रक्षा, अनुसन्धान र विकास गरी दुईवटा फरक सङ्गठनमा उहाँले काम गर्नुभयो । पछि उहाँलाई प्रधानमन्त्री इन्दिरा गान्धीले भारतको मिसाइल कार्यक्रमको जिम्मेवारी दिनुभएको थियो । गान्धी उहाँको सफलताबाट प्रेरित भएको अनुभव समय–समयमा बताउने पनि गर्नुभएको थियो । उहाँ सन् २००२ मा भारतको राष्ट्रपति बन्नुभएको हो ।
उहाँ एकजना दार्शनिक तथा सैद्धान्तिक वैज्ञानिक हुनुहुन्थ्यो । उहाँले त्यस समय भारतमा उपलब्ध विज्ञान र प्रविधिको सहारामा भारतलाई यस बाटोमा उन्मुख गराउनुभयो । पृथ्वी र आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र विकासमा उहाँको योगदानको यतिखेर भारतीय वैज्ञानिक वृत्त चर्चा गरिरहेछ । विशेष कुरा त के भने उहाँले सरकारी खटन र व्यवस्थामा काम गर्नुभयो । प्राय प्रतिभाशाली व्यक्तिहरू काममा सरकारी संरचना र शैली मन पराउँदैनन् । त्यसैले कयौँ प्रतिभा एवम् वैज्ञानिकहरू पश्चिममा देशमा पलायन भएका छन् ।
तर स्वदेशमै केही गर्न र सफल हुन सकिन्छ भन्ने सोँच र यथार्थलाई उहाँले भारत नछोडेरै पनि प्रमाणित गरिदिए । त्यसैले पनि उहाँ भारतीय युवाबीच लोकप्रिय बनेका हुन् ।
उहाँलाई वैज्ञानिक प्रयोग वा अध्ययनका लागि विदेशी विश्वविद्यालयको प्रयोगशाला चाहिएन । स्वदेशमै उपलब्ध स्रोतबाट भारतको भौतिक शास्त्रको विकासलाई यहाँसम्म ल्याउन उहाँ सफल हुनुभयो । उहाँ उत्साह, आत्मविश्वास र ज्ञानका खानी हुनुहुन्थ्यो । उहाँका यिनै सकारात्मक पक्षले भरिएका छन् हिजोआजका भारतीय अखबारका पानाहरू र शीर्षकमा उहाँलाई दिइएका उपाधि छन्– ‘मिसाइल म्यान’, वैज्ञानिक, दार्शनिक, जनताका राष्ट्रपति, युवाका पे्ररणा, सकारात्मक सोँचका धनी, गरिबका छोरा राष्ट्रपति आदि । रासस/विभिन्न समाचार एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया