मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–चीन कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा

नेपाल–चीन कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा


काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशका अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बेग्लाबेग्लै बधाई सन्देश जारी गरी एकआपसमा शुभकामना एवम् बधाई आदानप्रदान गरेका छन ।
 
राष्ट्रपति डा रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बधाई सन्देश पठाउँदै पञ्चशीलका सिद्धान्तले द्विपक्षीय सम्बन्धमा शान्तिपूर्ण सहअस्तित्वका मजबुत आधार उपलब्ध गारएको बताएका छन । ‘एक चीन नीति’ प्रति नेपालको सम्मान रहेको बताउँदै सन्देशमा उनले नेपाली जनताले चिनियाँ नागरिकलाई सच्चा र विश्वसनीय मित्रका रुपमा उच्च सम्मान गरेका उल्लेख गरेका छन ।
 
हालैको भूकम्पका बेला चिनियाँ जनताबाट त्यस्तो मैत्रीको उत्कृष्ट प्रदर्शन भएको बताउँदै सन्देशमा राष्ट्रपति यादवले बितेका छ दशकमा चीनले हासिल गरेको प्रभावपूर्ण सामाजिक–आर्थिक प्रगतिप्रति हर्ष प्रकट गरेका छन । सन्देशमा उनले स्नेहशील चीनका जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना पनि गरेका छन ।
 
त्यसैगरी राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी डा यादवलाई आजै पठाउनुभएको बधाई सन्देशमा चीन र नेपाल–चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन् भन्दै बितेका ६० वर्षमा द्विपक्षीय सम्बन्ध निरन्तर परिपक्क भइरहेको बताए । चीन र नेपालबीच विशिष्टिकृत विस्तृत सहयोगात्मक साझेदारीको सम्बन्ध अनन्तकालसम्म निरन्तर रहने गरी स्थापना भएको उल्लेख गर्दै सन्देशमा चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सम्बन्धलाई आफूले अधिक महत्व दिएको बताएका छन ।
 
दुवै देश र जनतालाईं लाभ हुने अझ फलदायी परिणामका निम्ति राष्ट्रपति डा यादवसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै उनले चीन र नेपालबीचको चिरस्थायी सम्बन्धको शुभकामना व्यक्त गरे ।
 
त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङलाई पठाएको बधाई सन्देशमा नेपाल–चीन सम्बन्ध आपसी लाभका निम्ति पारस्परिक सम्मान, समझदारी, विश्वास र मैत्रीबाट परिपोषित, सङ्गठित र सुदृढ भएको बताएका छन ।
 
प्रधानमन्त्री कोइरालाले नेपाल र चीन आदर्शवान छिमेकीका रुपमा रहेका तथा साझा चासोका विषयमा निकट रहेर क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्दै आएका बताउँदै चीन नेपालको विश्वसनीय छिमेकी, अन्तरङ्ग मित्र र भरपर्दो विकासको साझेदार भएको सन्देशमा उल्लेख गरेका छन । “एक चीन नीतिप्रति नेपाल सुस्पष्ट ढङ्गले प्रतिबद्ध छ र आफ्ना छिमेकीका विरुद्ध कुनै गतिविधि आफ्नो भूमिमा हुन दिने छैन” भन्दै प्रधानमन्त्रीले नेपालको विकास प्रयासका साथै भूकम्पपछि चीनले गरेको मानवीय सहायताको सराहना गरेका छन ।
 
साथै प्रधानमन्त्रीले नेपालको पुनर्निर्माणमा उल्लेख्य सहायता उपलब्ध गराउने चिनियाँ प्रतिबद्धताप्रति हार्दिक आभार प्रकट गर्दै चीनले हासिल गरेको असाधारण प्रगति एवम् समृद्धिबाट नेपालले लाभ लिने आशा व्यक्त गर्नुभएको छ । “राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुसार शान्ति प्रक्रिया टुङ्ग्याउन तथा संविधानसभाबाटै नयाँ संविधान जारी गर्न राजनीतिक दलहरू लागिपरेका छन्” नेपालको पछिल्लो राजनीतिक विकासक्रमको सन्दर्भ जोड्दै प्रधानमन्त्री कोइरालाले सन्देशमा भनेका छन । उनले विशाल सम्भावना रहेका द्विपक्षीय सम्बन्धका क्षेत्रलाई उपयोग गर्न चिनियाँ समकक्षीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।
 
त्यसैगरी चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री कोइरालालाई पठाएको बधाई सन्देशमा चीन–नेपाल सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेको तथा साना र ठूला छिमेकी मुलुकबीच समानस्तरको मैत्रीपूर्ण सम्बन्ध कायम गरेर असल दृष्टान्त प्रस्तुत गरेको बताए । नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता रक्षाका लागि चीनले निरन्तर सहयोग गरिरहेको बताउँदै उनले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन । चीन र नेपालबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई थप उचाइमा पु(याउने प्रतिबद्धता पनि चिनियाँ प्रधानमन्त्रीले व्यक्त गरेका छन ।
 
यसैगरी परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र उनका चिनियाँ समकक्षी याङ यीले पनि पारस्परिक सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै समस्यारहित दुई देशबीचको मैत्री, अझ आत्मीय एवम् सुदृढ हुने विश्वास व्यक्त गरेका छन । रासस