मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस्ती स्थानान्तरणको योजना अधुरै

बस्ती स्थानान्तरणको योजना अधुरै


जुटपानी,  चितवन । काउले–९ स्थित पञ्चचुली पहाडको फेदमा रहेको गोछुवाङका भूकम्पपीडित २४ घरपरिवारलाई सुरक्षित बासस्थानमा सार्ने कामले अझै पूर्णता पाउन सकेको छैन । विनाशकारी भूकम्पले पहाड चिराचिरा भएपछि वर्षायाममा पहिरो जाने डरले सो बस्ती सार्ने निर्णय भएको थियो ।
उनीहरुलाई राख्न जुटपानीमा अस्थायी आवास तयार हुँदैछन् । ‘वर्षायाममा पहिरो जाला र जनधनको क्षति होला भनेर सार्ने भनियो तर घर अझै बन्दै छन्’ गोछुवाङका बलबहादुर विकले भने । श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालय जुटपानीको जग्गामा उनीहरुका लागि घर बन्दै गरेका छन् । भदौ ४ मा सक्ने लक्ष्यका साथ घर निर्माण कार्य असार ४ मा सुरू भएको थियो ।
नेपाल ग्रामीण आत्मनिर्भर अभियान (आरआरएन) नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा अस्थायी घरहरु बन्न लागेका हुन् । ‘भदौ ४ मा सक्ने लक्ष्य थियो । तर काम निकै चाडो अगाडि बढेकाले १५ दिन अगावै पूरा होलाजस्तो छ’ आरआरएनको सामुदायिक प्रयासहरुको आयोजना (सीआईडीपी) का संयोजक रवीन्द्र सिंहले भने ।
पहाडी गाउँ गोछुवाङका भूकम्पले २४ ध्वस्त भएका सबै घर दलित समुदायका हुन् । भूकम्प आएको दिन वैशाख १२ गते नै सोही स्थानकी एकजना वृद्धा सुवर्णाकुमारी विकको ज्यानसमेत गएको थियो । ‘चुन ढुंगाको पहाड हो त्यो । भूकम्पले चिरा परेको छ । जमिनमा धाँजा गएको छ । पानी आएपछि पहिरो जाने खतरा भएकाले सर्न खोजेका हौँ’ बलबहादुरले भने ।
जिल्ला विपद् व्यवस्थापन समितिको जेठ १२ मा सम्पन्न बैठकले गोछुवाङलगायत पहिरोको जोखिममा रहेका भूकम्प प्रभावित गाउँलेहरुलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो । ‘सुरूमा स्थानान्तरण गरेर अन्यत्रै राख्ने भन्ने निर्णय भएको थियो । तर पहिला तोकेको ठाउँमा विरोध आयो । पछि अस्थायी भए पनि घरहरु बनाउन खोज्दा समय बितेको हो’ आरआरएनका सिंहले भने ।
गाउँका धेरैजना आएर घर निर्माणमा सघाएका छन् । तर केही अझै उतै गाउँमा छन् । बूढाबूढी, सुत्केरी र गाईभैंसी कुर्नेहरु गाउँमा नै छन् । ‘यहाँ घर बनिसकेको छैन । त्यसैले उता बसेका सबैलाई ल्याउन पाइएको छैन । हामी यहाँ छौँ पानी परेपछि मन उहीँ पुग्छ । के कसो हुने हो भनेर डरमात्रै लाग्छ’ घर निर्माणमा सघाइरहेकी मनकुमारी विकले भनिन् ।
१६ फिट लम्बाइ र १६ फिट चौडाइका घर बनाउन एक लाख १० हजार रूपैयाँ खर्च हुने आरआरएनका अधिकारीहरुले जानकारी दिएका छन् । सिमेन्टको पोलको खाँबो रहेको घरमा जस्ताको छानो हुने छ । बाँसले बारेर माटोले लिपपोत गर्ने २४ घरमा केटाकेटी ५२ जनासहित १९५ जना बस्दै छन् । साँघुरो भए पनि कुनै घरमा १४ जनासम्म बस्नु पर्ने अवस्था छ ।