मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विस्थापितहरु पात ओछ्याएर सुत्न बाध्य

विस्थापितहरु पात ओछ्याएर सुत्न बाध्य


धादिङ । धादिङ सेर्तुङका टोपमान तामाङसँग वैशाख १२ गतेसम्म आफ्नै घर, वर्षभरि खाने अन्नपात र उब्जने खेतबारी थियो । झुपडी किन नहोस्, सानो घर र सुखी परिवार थियो । जसातसो बिहान बेलुका खानका लागि सामान्य खेतीपातीबाहेक ठूलो संघर्ष गर्नुपर्ने थिएन । 
तर भूकम्पका कारण तोपमान र उनको गाउँ यसरी तहसनहस भयो कि जहाँ मानिस बस्न लायक नैै रहेन । ती दिन सम्झँदै टोपमानले भने, ‘भूकम्पअगाडि अपुग कही थिएन जस्तो लाग्थ्यो अहिले केही नभएको जस्तो भइयो ।’ 
आँखा रसिला बनाउँदै उनले भने, ‘सम्पतिको नाउँमा यही एउटा त्रिपाललाई सबैथोक मानेर बस्नुपर्दा मन साहै्र अमिलो भएर आउँछ ।’ टोपमानमात्रै होइन, भूकम्पका कारण विस्थापित भएर सदरमुकाम आसपास आएका उत्तरी धादिङका करिव १ हजार परिवारको विस्थापित दैनिकी निकै कष्टकर बन्न थालेको छ । 
‘सानोतिनो झरी दिनहुँ परिरहन्छ । घाम लागे पनि गर्मीले त्रिपालमुनि बस्न सकिँदैन, ठूलो पानी परे चुहिएर भिजाउँछ ।’ विस्थापित तेनसिङ घले भन्छन, ‘यस्तो पानी पर्दा त हामी गाउँमा घरभित्र बारीको मकै पोलेर टिमुर हालेको अचारसँग खाइरहेका हुन्थ्यौँ । तर यहाँ त पानी पर्नासाथ त्रिपाल जोगाउनकै समस्या छ ।’ 
भूकम्पपछि विस्थापित भएर धादिङबेसीनजिकै अस्थायी शिविरमा बसोबास गरिरहेका अधिकांश विस्थापितहरुको उस्तै बिलौना छ । भूकम्पपछि तिप्लिङ, झार्लाङ र सेर्तुङ गाविसका वासिन्दा गाउँमा बस्न नसक्ने अवस्था नभएपछि तीनदिनको पैदल बाटो पार गरेर सदरमुकाम धादिङबेसी नजिकै रहेको अल्छीडाँडा, धन्सारवेशी र दामगाडेका खाली जग्गामा बसिरहेका छन् । 
सरकार र विभिन्न संघसंस्थाहरुले जसोतसो त्रिपाल र खाद्यान्न दिएको छ । ओढ्ने ओछ्याउने नहुँदा पराल तथा पतझर ओछ्याएर सुत्न बाध्य छन् । चिसो भुँइमा बालबालिका र वृद्धवृद्धाहरुमा स्वास्थ्यसम्बन्धी समस्याहरु देखा पर्न थालेको छ ।
विस्थापित शिविरहरुमा सबैभन्दा बढी पानी कै समस्या देखिएको छ । विस्थापित भएर बसेका शिविरहरुमा विशेषगरी महिला तथा बालबालिकाहरु बढी प्रभावित भएका छन् । गर्मीमा त्रिपालमुनि बस्नुपर्दा बालबालिका र वृद्धवृद्धाहरु बिरामी पर्न थालेका छन् । गर्भवती र सुत्केरीलाई पौष्टिक खानेकुराकै समस्या देखिएको विस्थापित बताउँछन् ।  
अस्थायी शिविरमा पर्याप्त पानीको सुविधा नहुँदा सरसफाइमा बाधा पुगेको छ । महिलाहरुमा महिनावारी हुँदा पनि समस्या पर्ने गरेको छ । विस्थापित सविना तामाङले भनिन्, ‘महिनावारी हुने बेलामा साह्रै गाह्रो हुन्छ ।’ 
शिविरमा रहेकाहरुको दैनिकी निकै कष्टकर भएकाले सहयोगका लागि आउने दाताहरुलाई त्यहाँसम्म पुगेर सहयोग सामग्री वितरणका लागि आग्रह गर्दै आइरहेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजकसमेत रहेका धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । शिविरको बसाइ भएकाले कष्टकर भए पनि उनीहरुको दैनिक जीवन निर्वाहका लागि चाहिने सेवा सुविधा वितरणमा सक्दो पहल भइरहेको प्रजिअ घिमिरेले बताए ।