मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको १० ठाउँबाट सुझाव संकलन

चितवनको १० ठाउँबाट सुझाव संकलन


चितवन । संविधानको प्रारम्भिक मस्यौदा पारित भएसँगै यसबारे चितवनका पाँच निर्वाचन क्षेत्रका १० ठाउँमा सुझाव संकलन हुने भएको छ । 

साउन ४ र ५ गते हुने सुझाव संकलनका लागि संसद सचिवालयले १५ सय थान मस्यौदा चितवन पठाएको छ । पाँचै क्षेत्रमा साउन ४ गते र ५ गते फरक–फरक ठाउँमा सुझाव संकलन हुँदैछ । 

सुझावका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर १३ जना सभासद् जिल्लामा खटिने छन् । एक ठाउँमा हुने कार्यक्रममा कम्तीमा पनि डेढ सयजना सहभागी हुने आशा छ । कम्तीमा १५ सयजनाले कार्यक्रममा सहभागी भएर सुझाव दिने छन् । 

‘कार्यक्रमका बारेमा साउन १ गतेबाटै सार्वजनिक सूचना प्रसारण हुनेछ । नगरपालिका, वडा र गाविसका सचिवहरुलाई भेला गराएर प्रचार गर्न लगाएका छौंं’ चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने ।

सुझाव संकलनका लागि संसद सचिवालयले चितवनमा खटाएको उपसचिव मुरारी महतले चितवनमा १५ सय थान मस्यौदा वितरण भएको बताए । गाविसलाई ५०, नगरपालिकालाई सय र उपमहानगरपालिकालाई दुई सय थानका दरले मस्यौदा कपी वितरण गरिएको उनले जानकारी दिए ।
गाविस सचिव र नगरपालिका उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरुले मस्यौदा बुझिसकेका छन् । तर बुझेका मस्यौदा गाउँगाउँमा पु¥याउन भ्याइएको छैन । 

‘कामले गर्दा सदरमुकाममा नै छु । साउन दुई र तीन गते गाउँगाउँमा बाँड्छु’ लोथर गाविसका सचिव कुलप्रसाद आचार्यले भने । नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङलाई आफ्नो जातिको बाहुल्य रहेको क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा हुनुपर्छ भन्ने विषय संविधानमा समेट्न आवश्यक ठानेका छन् । 

चेपाङजस्तो सिमान्तकृत जातिको संरक्षणका लागि उनीहरु बस्ने इलाकालाई संरक्षित क्षेत्र घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ भनेर सुझाव दिने उनले बताए । 

चितवन क्षेत्र नं. ३ मा पर्ने चण्डिभञ्ज्याङ घर भएका लक्ष्मण मुग्लिनमा हुने कार्यक्रममा भाग लिएर सुझाव दर्ता गराउने तयारीमा छन् । क्षेत्र नं. ५ मा पर्ने माडीको गर्दी राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक कृष्ण चौधरीलाई देश धर्म निरपेक्ष हुने भन्ने कुरा उल्लेख गरेपछि राष्ट्रिय जनावर गाई लेखेको चित्त बुझेको छैन । माडी बघौडामा साउन ५ गते हुने कार्यक्रममा गएर उनी यसमा सुझाव थप्दैछन् ।

‘राष्ट्रिय जनावर गाई होइन गैंडा बनाउनुपर्छ । मस्यौदा खोजेर पढे त्यहाँ गाई लेखेको रहेछ । माडीमा बघौडामा कार्यक्रम हुँदैछ भन्ने सुनेको छु त्यहाँ गएर म गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्छ भन्ने सुझाव राख्दै छु’ शिक्षक चौधरीले भने ।

भण्डाराका सुर्यबहादुर चेपाङको हातमा पनि मस्यौदा परेको छ । महिला अधिकार कम भयो भन्ने उनलाई लागेको छ । त्यसैका बारेमा उनले सुझाव राख्दै छन् । 

त्यस्तै नेकपा एमाले जिल्ला सल्लाहकार परिषद्को बैठकले नयाँ संविधानका मस्यौदाको सुझाव संकलन प्रक्रियाका बारेमा छलफल गरेको छ । जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष मुक्तिनाथ अधिकारीको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल प्रमुख अतिथि थिए । बैठकमा अनुशासन आयोगका केन्द्रीय सदस्य झिल्लुप्रसाद तिवारी, पार्टी जिल्ला अध्यक्ष जेएन थपलिया, सचिव तेजेन्द्रबहादुर खड्का, कार्यालय सचिव पदमपाणि सुवेदीले मन्तव्य दिए ।