मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरो छिचोल्दै बाटो खोल्दै भूकम्पपीडित

पहिरो छिचोल्दै बाटो खोल्दै भूकम्पपीडित


गोरखाबजार । हालै गएको भूकम्पपछिको पहिरोले अवरुद्ध भएको गोरखाको विभिन्न गाउँ जोड्ने गोरेटो, घोरेटो बाटो स्थानीयवासीको सक्रियतामा सुचारु गरिएको छ । 
 
उत्तरी गोरखाको गुम्दा गाविसस्थित यामगाउँदेखि लापु गाविस खानीगाउँ हुँदै आरुघाट बजार झर्ने बाटो सुचारु गरिएको हो । भूकम्पपीडित स्थानीयवासीले पहिरो छिचोल्दै जोखिम मलेर बाटो खोलेका हुन् ।
 
“वल्लो गाउँदेखि पल्लो गाउँसम्म जाने बाटो पनि थुनिएको थियो” गुम्दा–४ यामगाउँका जीतबहादुर गुरुङले भन्नुभयो, “गाउँलेले श्रमदान गरेर बाटो बनाए ।” गुम्दादेखि आरुघाट झर्न एक दिन पैदल हिँड्नुपर्छ । गोरेटो, घोरेटो बाटोमा सयौँ पहिरो झरेपछि अवरुद्ध थियो । यामगाउँदेखि लापु गाविसको भिरकुना, खानीबँेसी आवागमनमा पनि समस्या भएपछि गाउँलेले अवरुद्ध बाटो खोलेका हुन् ।
 
मूलबाटोलाई छाडेर शाखा बाटो बनाएको भन्दै उहाँले आरुघाट–गुम्दा पुग्ने खच्चड, मान्छे हिँड्ने बाटो खोलेको जानकारी दिनुभएको छ । बाटो सुचारु गर्नका लागि गुम्दा, लापुका भूकम्पपीडित घरेलु औजार गल, गैची, सावेल बोकेर श्रमदानमा निस्केका थिए । “श्रमदान गरेर दर्जनौँ पहिरो छिचोल्दै बाटो खोलेका थियाँै” उहाँले भन्नुभयो, “अवरुद्ध बाटो खुलाउन जिल्ला विकास समिति गोरखाले बजेट पनि दिएको छ ।” जिल्ला विकास समितिले रु पाँच लाख बजेट दिएको भन्दै उहाँले उपभोक्ता समितिले बाटो खुलाउन सहयोग गरेको उल्लेख गर्नु भयो ।
 
     भूकम्पले डाँडा चिराचिरा परेको छ । चिरिएको जमिनमा पानीको भेल छिरेपछि पहिरोको डर भएको गुरुङले बताउनुभयो । साथै मनास्लु पदमार्गको थुमी गाविसस्थित सोतीबजारदेखि सिर्दिवास गाविसको जगतसम्म पुग्ने वैकल्पिक मार्ग खोलिएको छ । केरौंजाका स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले गोरेटो बाटो खुलाएको हो । 
 
यो बाटो खुलाउन पनि जिविसले उपभोक्ता समितिलाई रु पाँच लाख दिएको जनाएको छ । गोरेटो बाटो सञ्चालनमा आए पनि उत्तरी १० गाविसका स्थानीयवासी यो बाटोको प्रयोग गर्दैनन् । पहिरोको डरले स्थानीयवासी सदरमुकाम आवागमन गरेका छैनन् । 
 
पहुँचवालाले हेलिकोप्टरको प्रयोग गरेर सदरमुकाम झर्ने, राजधानी ओहोरदोहोर गरेका छन् । तर, बटुवा नयाँ बाटो हिँड्न चाहेका छैनन् । बाटो अवरुद्ध भएका तत्कालै सुचारु गर्न नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको छ । करिब ६० जनाको सङ्ख्यामा सेना, सशस्त्रको टोली नयाँ खोलिएको बाटोमा परिचालित छन् । 
 
जिल्ला दैवीप्रकोप उद्धार समितिले उत्तर जोड्ने बाटो सुचारुको लागि पहल गरेको हो । बाटो सुचारु भएपछि खच्चड हिँडाउन सकिने र उत्तरी भेगका स्थानीयवासीलाई भोकमरीको सङ्कटबाट मुक्त गराउने समितिले तयारी गरेको छ । भूकम्पका बेला भारी बोकेर उत्तरी भेग जाँदै गरेका र उत्तरी भेगबाट आरुघाट, आर्खेततर्फ झर्दै गरेको सयौँ खच्चड बाटोमै मरेकाले ज्यूँदा खच्चड सङ्ख्या कम छ । बाटो सहज नभएसम्म ती खच्चडलाई भारी बोकाएर उत्तरी भेग नपठाउने व्यवसायीको तयारी छ । रासस