मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने


काठमाडौँ । सरकारले आवश्यक पूर्वाधार विकास गरी नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ ।
 
अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा मंगलबार प्रस्तुत गरेको आव २०७२/०७३ वर्षको बजेटमा नेपाली पर्यटनको विशेषतालाई पुनःजीवित गर्दै नेपाललाई पुनः विश्वको आकर्षक पर्यटकीय गन्तव्य बनाउने जनाइएको छ ।
 
मौलिक संस्कृति बोकेका एवम् पर्यटकीय आकर्षक केन्द्रबिन्दु र परम्परागत बसोबास रहेका ऐतिहासिक बस्तीलाई समुदायको पहलमा मौलिक रुपमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ ।
 
भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थानका लागि पर्यटन विकास, बजारीकरण र पहँच वृद्धिमा जोड दिँदै भूकम्प प्रभावित क्षेत्रको सुरक्षा परीक्षण गराई स्वदेशी तथा विदेशी पर्यटकलाई पर्यटकीय स्थल सुरक्षित रहेको आश्वस्त गराइने बजेटमा उल्लेख छ । 
 
पर्यटन क्षेत्रलाई अर्थतन्त्रको दरिलो आधार क्षेत्रका रुपमा विकास गर्न राष्ट्रिय पर्यटन रणनीति कार्ययोजनालाई कार्यान्वयन गर्दै महिला तथा स्थानीय समुदायको सहभागिता बढाउँदै पर्यटन उद्योगमा स्थानीय उत्पादनको उपयोगमा जोड दिइनेछ ।
 
त्रिभुवन विमानस्थलको स्तारोन्नतिको कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ । यसका लागि रु एक अर्ब ७८ करोड बजेट छुट्याएको छ ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण सम्पन्न गरी आगामी आवदेखि निर्माण सुरु गरिनेछ । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्न आन्तरिक वायु सेवालाई काठमाडौँ बाहिरका विमानस्थलबाट सेवा सञ्चालन गर्न प्रोत्साहन गरिने छ । विमानस्थलको निर्माण एवम् सुधारका लागि रु पाँच अर्ब ७५ करोड विनियोजन गरिएको छ । 
 
‘ग्रेट हिमालयन ट्रेल’को निर्माणमा तीव्रता
पदयात्रा मार्गको स्तरोन्नति गर्दै ‘ग्रेट हिमालयन ट्रेल’को निर्माणलाई तीव्रता दिइने बजेटमा जनाइएको छ । सल्लेरी–चौंरीखर्क सगरमाथा पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गरी यस क्षेत्रमा रहेका धार्मिक तथा संस्कृतिक क्षेत्रको विकासमा विशेष ध्यान दिइनेछ ।
 
कर्णाली जिल्लाका पर्यटकीय पूर्वाधार विकासका लागत प्याकेज कार्यक्रम कार्यान्वयन गरिनेछ । कर्णाली राजमार्ग र विमानस्थलको स्तरोन्नति गरी आवागमन सहज बनाइनेछ । 
 
मुगुको रारालगायत क्षेत्रमा सुविधासम्पन्न पर्यटकीय होटल तथा रिसोर्ट निर्माण गरी निर्माण गर्न चाहने निजी क्षेत्रलाई कर छुट दिने बिगतको नीतिलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । सुदूरपश्चिमाञ्चललाई सुदूर पर्यटन क्षेत्रका रुपमा विकास गरी यस क्षेत्रमा रहेका धार्मिक पर्यटकीय महत्वका स्थलको संरक्षणमा जोड दिइने छ ।
 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा थप जहाज ल्याउने प्रक्रिया सुरु गरिनेछ । नेपाल वायुसेवा निगममा हवाई उड्डयनका क्षेत्रमा अनुभवप्राप्त अन्तर्राष्ट्रिय विमान कम्पनीलाई रणनीतिक साझेदारका रुपमा भित्र्याउने प्रक्रिया प्रारम्भ गरिनेछ । सरकारले पर्यटन पूर्वाधार एवम् प्रवद्र्धनका लागि रु एक अर्ब एक करोड बजेट विनियोजन गरेको छ ।  रासस