मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डोल्पाली जनता सिटामोलका लागि तीन दिन हिँड्न बाध्य

डोल्पाली जनता सिटामोलका लागि तीन दिन हिँड्न बाध्य


त्रिपुराकोट (डोल्पा । डोल्पा जिल्ला क्षेत्रफलको दृष्टिले नेपालकै सबैभन्दा ठूलो जिल्ला भए तापनि यो जिल्लाको जनसङ्ख्या भने ३६ हजारको हाराहारीमा मात्रै छ ।
 
विकासको मुख्य आधार मानिने सडक यातायातको सुविधा डोल्पासम्म पुगेको छैन । राज्यको विकट कर्णाली अञ्चलकै महाविकट डोल्पा जिल्लामा १५ श्ययाको एउटा जिल्ला अस्पताल, २१ वटा उपस्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य चौकी रहेका छन् । भौतिक संरचनामा मात्र सीमित यी स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य सेवा दिन नसकेको विषयमा जिल्लामा बेला बेला चर्चा परिचर्चा हुने गर्दछ ।
 
गाउँका स्वास्थ्य चौकी वर्षमा एक दिन पनि नखुलेपछि स्वास्थ्य उपचारका लागि तीन दिन पैदल हिँडेर सदरमुकामस्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता उपल्लो डोल्पाली र तल्लो डोल्पाका केही गाविसका सर्वसाधारणले झेल्दै आएका छन् । वर्षमा एकपटक पनि कर्मचारी कार्यालय जाने गरेको नपाइएका जिल्लाको उत्तरी भेगका धो, छार्का, तिन्जे, मुकोट, साल्दाङ, फोक्सुन्दोलगायत गाविसमा रहेका स्वास्थ्य तथा उपस्वास्थ्यचौकी दिनानुदिन जीर्ण बन्दै गइरहेका छन् ।
 
वर्षमा एकपटक पनि कर्मचारी कार्यालयमा नपुग्ने गरेपछि कार्यालय कै अत्तोपत्तो छैन । गाउँघरमा नियमित लगाउनुपर्ने खोप पनि म्याद नाघेपछि चलाउने गरेको स्थानीयवासीले बताउने गरेका छन् । सामान्य स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी पुग्दा जहिले पनि ताला लगाइएको हुन्छ ।
 
गाउँको उपस्वास्थ्य चौकीमा तीनजना कर्मचारीको दरबन्दी छ तर कर्मचारी कार्यालय मै नबस्ने भएपछि बिरामी परेका बेला उपचारका लागि तीन दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको फोक्सुन्दो गाविसका स्थानीयवासी निमा लामाले बताउनुभयो ।
 
गाउँको नजिकै भनिएको स्वास्थ्य चौकीबाट बिरामी परेका बेला अहिलेसम्म एक ट्याबलेट सिटामोलसम्म नपाएको गुनासो उहाँले रासससँग गर्नुभयो । विद्यालयनजिकै अस्पताल भए पनि कर्मचारी स्वास्थ्य चौकीमा नबस्ने गरेपछि विद्यार्थी बिरामी परेका बेला सामान्य उपचारका लागि जिल्ला पु¥याउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
 
जनताका लागि राजनीति गर्छु भन्नेहरू सामान्य बिरामी पर्दा पनि उपचारका लागि देश बाहिर पुग्ने गर्छन् । यही मुलुकका कतिपय डोल्पाली भने सिटामोल नपाएरै मर्ने गरेको तितो यथार्थ रहेको स्थानीयवासी उमाकान्त न्यौपानेले बताउनुभयो । जिल्ला अस्पताल डोल्पामा राम्रो एक्स–रे मेसिन नभएकाले एक्स–रे, रगत परीक्षणलगायतका परीक्षणका लागि जिल्ला बाहिर नै जानुपर्ने बाध्यता रहेको छ ।
 
विगतमा गाविसमा प्रसूतिगृह नभएकै कारण एक महिलाको सुत्केरी भएको १० दिनमा र त्यसको केही दिनपछि बच्चाको पनि मृत्यु भएको घटनाको स्मरण गर्दै इलाका स्वास्थ्य चौकी लिकुका अहेब मेघराज बरालले भन्नुभयो – “अहिले गाविसमै प्रसूतिगृह भएकाले महिलालाई सफल प्रसूति गराउन सहज भएको छ ।”
 
त्यस्तै डोल्पा भौगोलिक रूपमा विकट भएकाले एक गाविसबाट अर्को गाविस जान एक दिनदेखि दुई दिनको समय व्यतित गर्नुपर्दछ । मुस्किलले गाउँगाउँबाट उपचारका लागि आएका सर्वसाधारण उपचारबिना नै फर्किने गरेका छन् ।
 
कहिले स्वास्थ्य चौकी नै नखुल्ने, खुले पनि जीवनजल, सिटामोललगायतका औषधि नै नपाइने गुनासो माझफालका स्थानीयवासीले गरेका छन् । डोल्पामा रहेका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीको हालत पनि एकदमै दयनीय छ । जिल्लाका अधिकांश उपस्वास्थ्य चौकीमा वर्षांैअघिदेखि ताला लगाइएकाले आफूलाई दुःख लागेको स्थानीय लोकेश खत्रीले बताउनुभयो । नेपाल सरकारले देशका विकट ग्रामीण बस्तीमा स्वास्थ्योपचारका लागि करोडाँै लगानी गरे तापनि उचित प्रकारको अनुगमन तथा निरीक्षणको अभावले सरकारी लगानीको सही सदुपयोग नभएको समेत उहाँले बताउनुभयो ।
 
सदरमुकामदेखि नजिकै पर्ने भएर त्रिपुराकोट, लिकुका साथै जुफाल र दुनै गाविसमा रहेका स्वास्थ्य चौकी भने अरूभन्दा केही फरक छन् । ती स्वास्थ्य चौकीले थोरै भए पनि सर्वसाधारणलाई सेवा प्रदान गरिरहेको स्थानीयवासीले बताउने गरेका छन् । उपल्लो डोल्पामा सरकारी निकायको उपस्थिति भए नभएको पनि केही जानकारी नभएको उपल्लो डोल्पालीले बताएका छन् । डोल्पालीले यस्ता कर्मचारीलाई कारबाहीका लागि पटक–पटक गृह प्रशासनमा माग गरेपनि स्थानीय प्रशासनले कारबाही गर्ने नगरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बूढाले बताउनुभयो ।
 
जिल्लामा आबद्ध विभिन्न राजनीतिक दलको ध्यान पनि यतातिर गएको छैन । ती नेता चुनाव आएपछि विभिन्न आश्वासन बाँड्दै जनताको घरदैलोमा भोट माग्न पुग्दछन् तर आफ्नो स्वार्थ पूरा भएपछि जनताको समस्या बुझ्न फर्केर आउँदैनन् । सम्बन्धित निकायले कार्यालय नजाने कर्मचारीलाई कारबाही गर्न खोजे पनि उल्टै उनीहरूले राजनीतिक संरक्षण पाउने प्रवृत्तिले गर्दा पनि कर्मचारी छाडा भएको उहाँको भनाइ छ । औषधि लिन दिनहँु नजिकैको स्वास्थ्य चौकी जाँदा औषधि छैन भन्ने मात्रै जवाफ पाउने गरेको र त्यहाँ म्याद नाघेका औषधिहरू राख्ने गरेको त्रिपुराकोट वडा नं ९ करेलीकाँडाका स्थानीयवासी रत्नमति बोहराको गुनासो छ ।
 
एक गर्भवती महिलाले नौ महिनामा २८० ट्याबलेट खानुपर्ने भनी स्वास्थ्यकर्मीले भने पनि आफूले नौ महिनामा पाँच चक्कीमात्र पाएको उहाँले बताउनुभयो । यहाँका अधिकांश स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलिरहेका छन् भने केही स्वास्थ्य चौकीमा त कार्यालय सहयोगीले नै औषधि वितरण गर्ने गर्दछन् । डोल्पामा राम्रो सेवा दिइरहेको स्वास्थ्य चौकी स्वयम् पनि महिनामा केही दिन मात्रै खुल्ने गर्छ र खुले पनि दिनमा एक घन्टामात्र खुल्छ । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा बिरामीका लागि १५ श्यया रहेको छ भने दुईवटा एमबिबिएस डाक्टरको दरबन्दी यहाँ रहेको छ । यस अस्पतालमा एकजना मात्र डाक्टर बस्छ ।
 
जिल्ला अस्पताल डोल्पामा कहिलेकाहीँ मात्र डाक्टर बस्ने गर्दछन् भने अधिकांश समय अस्पताल डाक्टरविहीन हुने गर्दछ । अस्पतालमा डाक्टर नभएपछि धेरैजसो बिरामीको स्वास्थ्य परीक्षण सिनियर अहेब वा अनमिले नै गर्ने गर्दछन् । अस्पताल परिसरको वातावरण पनि स्वच्छ नभएकाले उपचारका लागि पुगेका बिरामी उपचारको साटो आफैँ बिरामी भएर फर्कने गरेका छन् । अस्पताल व्यवस्थापनका लागि बर्सेनि लाखौँ रुपैयाँको बजेट आउने गर्छ तर यसको सही सदुपयोग हुन सकेको छैन । लाखौँ मूल्य तिरेर उपचारका लागि ल्याइएका एक्स–रे लगायतका मेसिन जिल्ला अस्पतालमा बेवारिसे रूपमा फालिएका छन् ।
 
जिल्ला अस्पताल तथा डोल्पाका सबै स्वास्थ्य चौकीमा औषधि ढुवानीको जिम्मा पाएका ठेकेदारले समयमै औषधि नपु¥याउँदा पटक–पटक औषधिको अभाव हुने गरेको छ । स्वास्थ्य प्रमुख र ठेकेदारको मिलेमतोले गर्दा औषधि ढुवानीमा ढिलाइ हुने र म्याद गुज्रन लागेको औषधिमात्र डोल्पा आइपुग्ने स्थानीय जनताको गुनासो छ । जिल्ला अस्पतालको हालत त यस्तो छ भने सदरमुकाम दुनैदेखि ७०/८० कोस टाढा पर्ने स्वास्थ्य चौकीको अवस्था कति सोचनीय होला ? अनुमान लगाउन सकिन्छ । केन्द्रबाट समयमै औषधि नपठाई दिँदा गाविसमा औषधिको अभाव हुने गरेको त्रिपुराकोट गाविसका अहेब कविप्रसाद उपाध्यायले बताउनुभयो । स्वास्थ्य मुख्य जिम्मेवारी लिएर बसेको जनस्वास्थ्य कार्यालय डोल्पाका बैठक कोठामा लाखाँै रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको औषधि थन्क्याइएको खुलासा भएको छ ।
 
गाउँघरमा नियमित स्वास्थ्य सेवा दिँदै आएपनि र तोकिएको समयमा घन्टौँ हिँडेर एक गाउँबाट अर्को गाउँमा गई भिटामिनलगायतका औषधि वितरणमा अहोरात्र खटिए पनि आफूहरूले समयमै पारिश्रमिक नपाएको गुनासो त्रिपुराकोट गाविसकी स्वयम्सेविका दुर्गा देवी न्यौपानेको छ । यसमाथि आफूहरूले गरेको श्रमको ज्याला थोरै भएपनि जिल्लाले पठाउने गरेपनि अहेबले बाटैमा खाइदिने उहाँ दुखेसो पोख्नुहुन्छ । रासस