मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्यटकलाई बाघ र गैँडा देखाउने चेलीहरू

पर्यटकलाई बाघ र गैँडा देखाउने चेलीहरू


‘मैले यो पेशा गर्न पाउनुपर्छ, पछि छोड भन्न पाइदैन’ नेचर गाइड लक्ष्मी गोदार चौधरीले आफना प्रेमी भुपेन्द्र चौधरीसँग प्रतिबद्धता मागिन् । भुपेन्द्रले हुन्छ भनेपछि गएको जेठ अन्तिम साता उनीहरूको विवाह भयो । ७ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्नु अगाडि आफ्ना भावी श्रीमानसँग लक्ष्मी यस्तो प्रतिबद्धता मागिरहेकी थिइन् । लक्ष्मी भन्छिन्, ‘यो मैले रोजेको पेसा हो, मेरो रहरले गरेको । म यसमा सन्तुष्ट छु । मैले यो पेसालाई निरन्तरता दिन पाउँने भनेपछि मात्रै विवाह गरेकी हुँ ।’

पर्यटकीय नगरी सौराहमा जन्मेकी लक्ष्मीलाई प्रकृति र जनावर साह्रै प्यारो लाग्छ । जंगल र जनावरसँग रमेका पर्यटकले उनको मन तान्छ । त्यसैले उनले नेचर गाइड पेसा रोजेकी छन् । कमाइ पनि हुने, खर्रर अग्रेंजी बोल्न पनि पाइने सोचेर उनले नेचर गाइड तालिम गरिन् । नभन्दै आफ्नो इच्छा पुरा गरेरै छोडिन् ।

लक्ष्मीलाई अग्रेंजी बोल्न साह्रै मन पथ्र्यो । बिदेशीसँग बोल्न पाइने भएकोले यो पेसा राम्रो लाग्थ्यो । उनको घर पनि सौराहा नै हो । श्रीमान भुपेन्द्र चौधरी हात्ती अफिस सौराहमा लेखापाल छन् । सौराहा कै जीवनसाथी रोजेकोले पनि आफ्नो पेसाले निरन्तरता पाउनेमा लक्ष्मी ढुक्क छन् । उनले सन २०१२ मा नेचर गाइडको लाइसेन्स लिएकी हुन् । लामो समय अर्काकोमा काम गरेकी लक्ष्मीले ४ महिना भयो आफ्नै अफिस खोलेको ।

उनलाई यो पेसामा लाग्न प्रेरणा दिने व्यक्ति हुन् नेपाल कै पहिलो महिला नेचर गाइड डोमा पौडेल । लक्ष्मी भन्छिन् ‘डोमा दिदीको प्रेरणाले म यो पेसामा आकर्षित भएँ । नत्र आमा बुबालाई मनाउन गाह्रो पथ्र्याे । डोमा दिदीले गर्न सक्ने मैले किन नसक्ने भनेर जिद्धी गरेपछि परिवारले मलाई यो काम गर्न अनुमति दिएको थियो ।’

डोमा नेपाल कै पहिलो महिला नेचर गाइड हुन् । उनी ८ वर्षदेखि यो पेसामा छन् । डोमाको घर सौराहा नजिकै बछ्यौलीमा पर्छ । जगंलमा सुकेको दाउरा खोज्न जाँदा २०६० साल माघ २५ गते गैडाको आक्रमणमा उनको आमाको मृत्यु भयो । २०५० सालमा पुर्वी चितवनमा आएको विनासकारी बाढीले उनको घरवारको विचल्ली भएको थियो । प्राकृतिक विपद्ले उजाडेकोे परिवारिकी डोमाले प्रकृतिसँग नै नाता जोड्ने पेसामा लाग्ने अठोट गरिन् ।

डोमा भन्छिन् ‘यो प्रकृतिको मात्र दोष होइन । जनावर अवोध छन् । तिनीहरूले जानेर, सोचेर आक्रमण गर्दैनन् । आफ्नो रक्षाको लागि आक्रमण गर्ने हुन् ।’ उनका बिचारमा जे हुनु भयो । जनावरले फेरि मेरो आमाजस्तै अरुका आमालाई आक्रमण गर्न नसकुन् भनेर सोच्नुपर्छ । उनले किन यो पेसा रोजिन् ?

डोमाको भनाइ यस्तो छ, ‘जनावरको काखमा जन्मिएका हौं हामी । जनावर नै हाम्रो मुलुकको गहना हो । यसको संरक्षण हुन जरुरी छ । त्यो अभियानमा सरिक हुने क्रममा नै म गाइड हुन पुगें ।’

आफ्नी आमालाई मार्ने वन्यजन्तु बचाउन हिँडेकी डोमा अन्तत नेपाल डायनामिक इको टुर्स नामको अफिस खोलेर पर्यटकको मन जित्ने अभियानमा छन् । आफूभन्दा साना भाई बहिनीको पढाई वृद्ध वुवाको रेखदेख गरि घरको गर्जाे पनि धानेकी छन् । जङ्गलको यात्रा सहज छैन । जङ्गली जनावरबाट सुरक्षित रहन सक्नुपर्छ ।

डोमा भन्छिन्, ‘जोखिम पाहुनाको रुचि भएकोले त्यसमा काम गर्दा मज्जा आउँछ । तर यसमा धेरै जोखिम छ । पाहुनालाई जङ्गलका जनावर देखाउन हिडेका हुन्छौ । उनीहरू नजिकबाट जनावर निहाल्न चाहन्छन् । त्यसैले सबभन्दा पहिला गाइड नै बन्यजन्तुको निशानामा पर्छ । गाइडले पाहुनाको साथसाथ आफूलाई जोगाउन सक्नुपर्छ ।’

पूर्वी चितवन कुमरोजकी विमिता भण्डारीले पनि नेचर गाइडको पहिचान बनाइसकेकी छन् । सन् २०११ देखि यो पेसा अंगालेकी विमिता २०१३ देखि होटल ग्रीन पार्क सौराहाकी नेचर गाइड छन् । विमिताका बुबा बनपाले थिए । उनले प्रवेशिका दिएर सकेकी मात्र थिइन् कमाउने बुबा विरामी परे । घर चलाउन समस्या प-यो । त्यसपछि उनले गाइड बन्ने सुर कसिन् । उनी भन्छिन ‘घर चलाउन गाह्रो भएपछि यो पेसा रोजें ।’ विमितासँगै त्यस होटलमा ६ जना पुरुष गाइड छन् । होटलमा महिला पुरुष भन्ने नभई पालो अनुसार काम गर्नेुपर्ने उनको भनाइ छ ।

यो पेशामा प्रशस्त जोखिम छ । तर, हिजो आज पुरुषले मात्र गर्ने नेचर गाइड पेसामा महिलाले पनि रुची देखाउन थालेका छन् । नेचर गाइडले पर्यटकलाई कहिले पैदल, कहिले जिप त कहिले डुंगामा सयर गराउनु पर्दछ । पर्यटकलाई घुमाउने क्रममा विदेशी पर्यटकले साह्रै आदर गर्ने, महिला भनेर नहेप्ने महिला नेचर गाइडहरूको भनाइ छ । महिला गाइडले कहिले पुरुषका समूह त कहिले महिला, कहिले दुवैलाई घुमाउने गर्छन् । महिला गाइडले घुमाउन सक्दिनन् होला भन्ने भावना बिदेशी पर्यटकमा नहुने, उनीहरूले झन् हौसला थप्ने महिला गाइडहरूको बुझाइ छ । बरु आन्तरिक पर्यटकले बेलाबेला अनावश्यक सोध्ने, जिस्क्याउने गर्छन् ।

नेचर गाइड डोमा भन्छिन्, ‘मैले यो पेसाबाट ६ जनाको परिवार पालेकी छु । महिला पनि नेचर गाइड हुन सक्छन् भन्ने देखाउन पाएकी छु । सन्तोष लाग्छ ।’ गाइड विमिताले घर परिवारको साथमा बसेर काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । लक्ष्मी भन्छिन्, ‘कमाइ यति नै हुन्छ भन्ने छैन । यो पाहुनासँगको आफ्नो व्यवहार, पाहुनाको संख्याका आधारमा निर्धारण हुन्छ ।’ नेपालको दोस्रो ठुलो पर्यटकीय क्षेत्र सौराहमा २०५२ सालमा पहिलो पटक नेचर गाइड एशोसियसन खोलिएको थियो ।

त्यसको झन्डै डेढ दशकपछि मात्र महिला गाइडहरू जन्मिए । नेचर गाइड एशोसियसनका अध्यक्ष उदय चन्द्र अर्याल भन्छन्, ‘महिलालाई यो पेसामा ल्याउन हामीले धेरै प्रयास ग-याै‌, तालिम खुलायाै‌ं । तर अहिले पनि यो पेसा महिलाको आर्कषण बनिरहेको छैन । १५ जना जतिले तालिम लिए । अहिले ६ जना मात्रै यो पेसामा छन् ।’ अध्यक्ष अर्यालका भनाइमा, नेचर गाइडको तालिममा जनावरका विशेषता, भाव, उनीहरूसँग सुरक्षित रहने उपाय, पर्यटकको रुचिलगायत जङ्गल र वन्यजन्तुका बारेमा सिकाइन्छ ।

कुनै पनि पेसा महिला र पुरुषको भन्ने हुँदैन । समाजमा अवसर दिने, चेतना र जागरण ल्याउन सक्याै‌ भने यो काम पुरुषको हो भनेर महिला पर्खेर बस्दैनन् । महिला नेचर गाइडहरूले यसलाई पुष्टि गरेका छन् ।

(संचारिका फिचर सेवाबाट)