मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपीडितका १४१ घर विभिन्न संस्थाले बनाइदिने

भूकम्पपीडितका १४१ घर विभिन्न संस्थाले बनाइदिने


चितवन । भूकम्पका कारण चितवनको पहाडी क्षेत्रका विभिन्न १२ वटा गाउँ जोखिम रहेको भन्दै स्थानान्तरण गर्न लागिएको यहाँका १४१ घर विभिन्न सङ्घसङ्गठन तथा गैरसरकारी संस्थाले निर्माण गरिदिने भएका छन् ।
 
ती सङ्घसंस्थाले १४१ घर निर्माण गर्ने प्रतिबद्धतासमेत जनाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसअघि स्थानान्तरण गर्न लागिएको दुई गाउँका २४ घर पनि दाताकै सहयोगमा निर्माण कार्य जारी रहेको छ । 
 
काउलेको गोछिवाङका २४ घरलाई जुटपानी चौर र लोथर यसिकाइका १२ घरलाई यौरालीटारमा सार्न घर निर्माण भइरहेको छ । त्यसपछि अहिले जोखिम बढेको भन्दै विभिन्न १२ गाउँका १४१ घर स्थानान्तरणको निर्णय भएकाले घर निर्माणमा गैरसरकारी संस्थासँग आग्रह गरिएको विपद् समितिका संयोजक एवम् चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । 
 
“दाताहरु केहीले घर निर्माण गर्ने घोषणा गरिसकेका छन् भने केहीले आज घोषणा गर्ने जनाएका छन्, हप्ता १० दिनभित्रमा निर्माण गरेर उनीहरुलाई सारिन्छ”, सिंहले भन्नुभयो । हंस बहुउद्देश्यीय सहकारी संस्थाले शक्तिखोरको १४ घर बनाइदिने संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो । 
 
यस्तै व्यवसायी उमाशङ्कर अग्रवालले व्यक्तिगत रुपमा छ घर निर्माण गर्ने र माडवारी सेवा केन्द्र नारायणगढले छ घर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
उद्योग वाणिज्य सङ्घ चितवनले १० घर निर्माण गर्ने सङ्घका अध्यक्ष कल्याण जोशीले जानकारी दिनुभयो । अन्य सङ्घसंस्थाले आज निर्णय गरेर जिल्ला विपद् समितिलाई जानकारी दिने चितवन उद्योग सङ्घका अध्यक्ष कृष्ण अधिकारीले बताउनुभयो । प्रतिघर करिब रु १५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । 
 
पछिल्लोपटक चितवनको दारेचोकको धुषा, ओरेक र तीनघरेका ४६ घरलाई सर्वशान्ति उच्चमाविको क्षेत्रमा, चण्डीभञ्याङ–४ थाम गाउँका चार घरलाई राप्रावि मैदानमा र लोथर गाविसको वाखराङ, तापाङ र पर्खालका १२ घरलाई विभिन्न सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको छ । 
 
यस्तै शक्तिखोर–३ को नाइबन्दीका १४ घरलाई वडा नम्बर ८ को फुटबल चौर तथा राजवन र मैतेसका २० घरलाई ७ नम्बरको फुटवल चौर, काउलेको घोप्टेघारी र हेपटेकका १८ घरलाई सिराइचुली मन्दिरको चौर, दाहखानी कुँयलघारीको २७ घरलाई सिमलढाप र सिस्नुघारीमा सार्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ । रासस