मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौराहामा पर्यटक नआएपछि व्यवसायीहरु आत्तिए

सौराहामा पर्यटक नआएपछि व्यवसायीहरु आत्तिए


सौराहा । महाभूकम्प आएको तीन महिना पुग्दा पनि चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक नआएपछि व्यवसायीहरु अतालिएका छन् । ठूलो लगानीमा होटल निर्माण गरेका व्यवसायीहरुले बैंकको किस्ता तिर्न नसकेर अतालिएका हुन् । 
 
सौराहाका अधिकांश व्यवसायीहरुले पछिल्लो समय पर्यटकलाई सुविधा दिन होटलमा लगानी बढाएका छन् । बैंकबाट ऋण लिएर लगानी बढाएका व्यवसायीहरु पर्यटक नआएर आम्दानी नभएपछि निराशमात्र भएका छैनन्, अतालिएका पनि छन् । 
 
भूकम्पपछि सौराहामा भदौसम्मका प्याकेज कार्यक्रम रद्द भएका छन् । भूकम्पका पराकम्पहरु अहिलेसम्म पनि आइरहेका कारण स्वदेशी पर्यटकहरु पनि सौराहा आएका छैनन् । ‘देशलाई नै भूकम्प लागेको छ, यस्तो अवस्थामा कसरी पर्यटक आउने’ केसी रेष्टुरेण्टका सञ्चालक नरेश गिरीले भने, ‘हामी त डुब्यौँ ।’ 
 
व्यवसायी गिरीले बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएर रेष्टुरेण्टमा लगानी गरेका थिए । उनले मासिक ५० हजार रुपैयाँ बैंकमा ब्याज तिर्नुपर्छ । पर्यटक नआएर ब्याज पनि तिर्न नसकेको उनले बताए । पछिल्लो समय ठूलो लगानीमा निर्माण गरिएका सेभेन स्टर, ल्याण्ड मार्क फरेष्ट रिर्सोट, ग्रीन पार्क, रोयल सफारी र सेन्टर पार्कका सञ्चालकहरु सौराहामा पर्यटक नआएपछि निरास भएका छन् । 
 
निर्माणकार्य सकेर सञ्चालनमा आएको एक वर्ष नबित्दै भूकम्पका कारण पर्यटक ठप्प भएपछि नयाँ बनेका होटलका सञ्चालकहरु मर्कामा परेका हुन् । लगानी ठूलो छ, सेभेन स्टारका सञ्चालक माधव दुवाडीले भने, ‘पर्यटक आगमनमा ढिलाइ भयो भने ठूलो घाटा बेहोर्नुपर्छ ।’ 
 
भूकम्पले पर्यटकीय क्षेत्रहरुमा भौतिक असर नगरेको भन्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय क्षेत्र सौराहा सुरक्षित छ भन्ने सन्देश फैलाउन आवश्यक रहेको बताए । भूकम्पका कारण सौराहामा पर्यटक नआएपछि पर्यटकलाई सेवा दिन बसेका गाइडहरु, पालिएका हात्तीहरु फुर्सलिदा छन् । 
 
होटल सञ्चालकहरुले आम्दानी नभएपछि कर्मचारीहरुलाई बिदामा पठाएका छन् । निकुञ्जमा पर्यटक घुमाउने प्रयोग गरिने जिपहरु पनि थन्किएका छन् । डुंगा सफारी, हात्ती सफारी नराम्ररी प्रभावित भएका छन् । पर्यटक नआएर सौराहा नै सुनसान छ । 
 
काठमाडौँ आएका पर्यटकमात्र चितवन र पोखरा आउने भएकाले भूकम्पले असर नपु¥याएका सौराहा र पोखराले पनि त्यसको मार खेप्नुपरेको छ । सौराहामा झण्डै ३० प्रतिशत पर्यटक भारतबाट आउने गरेका छन् । भूकम्पपछि भारतीय पर्यटकहरु पनि सौराहामा आएका छैनन् । 
 
सौराहामा साना ठूला गरी १०० भन्दा बढी होटल छन् । ६० देखि ७० को संख्यामा रेष्टुरेण्टहरु रहेका छन् । सौराहामा वार्षिक २ लाख पर्यटकहरु आउने बताइन्छ । स्तरीय होटलहरु प्याकेजमा चल्ने भएकाले ठूलो आर्थिक नोक्सानी व्यवसायीहरुले व्यहोर्नुपरेको संघका पूर्वअध्यक्ष हरिभक्त घिमिरेले बताए ।