मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोँगबु क्षेत्रका होटलमा करोडभन्दा बढी क्षति

गोँगबु क्षेत्रका होटलमा करोडभन्दा बढी क्षति


काठमाडौँ, ६ असार । भूकम्पबाट गोँगबु क्षेत्रका होटलमा करोडौँको क्षति भएको छ ।
 
भूकम्पबाट होटलका भवन भत्किँदा रु ३२ करोड ५८ लाख ५० हजार बराबरको क्षति भएको व्यवसायीहरूले बताएका छन् । काठमाडौँ होटल व्यवसायी सङ्घका अनुसार भूकम्पबाट सो क्षेत्रमा मात्र ३०० होटल व्यवसायी विस्थापित भएका छन् । त्यसमध्ये १२३ होटल पूर्ण रूपमा क्षतिग्रस्त तथा १७२ होटलमा आंशिक क्षति पुगेको छ ।
 
 
व्यवसायीको प्रत्यक्ष देखिनेभन्दा अप्रत्यक्ष रुपमा अरबौँको क्षति भएको सङ्घका अध्यक्ष शैलेश कार्कीले जानकारी दिनुभयो । गोँगबु क्षेत्रमा एउटै घरमा ३७ जनाको एकै स्थानमा मृत्यु भएको छ भने, केही हालसम्म पनि हराइरहेका छन् । सो क्षेत्रमा भूकम्पका कारण २१६ जना होटल व्यवसायी र उनका आफन्त र कामदारको मृत्यु भएको छ । उपत्यकाभित्र मात्र भूकम्पका कारण एक हजार ५०० होटल व्यवसायी विस्थापित हुनुपरेको छ ।
 
 
नेपाल होटल व्यवसायी महासङ्घको रेकर्ड अनुसार लामो समयदेखि स्वदेशी तथा विदेशी पाहुनाको स्वगत र सत्कार गरी उचित खानपान तथा व्यवस्थापनको व्यवस्था मिलाउने पवित्र उद्देश्यका साथ निजी क्षेत्रबाट स्थापित देशभरि करिब ६१ हजार होटल व्यवसायी सो क्षेत्रमा आबद्ध रहेका छन् ।
 
होटल व्यवसायी आफूले मुनाफा आर्जन गर्ने काम मात्र नगरी एउटा होटलले सरदर सातवटा परिवार पाल्ने गरी रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यलाई कर तिरी राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग गरेको नेपाल होटल व्यवसायी सङ्घका अध्यक्ष सेरू थापाको भनाइ छ । “हामी होटल व्यवसायी अत्यन्त सङ्कटको घडीबाट गुज्रिरहेका छौँ, घर धनीको सन्दर्भमा बाहेक अन्य क्षेत्रमा राज्यको अझै ध्यान पुग्न सकेको छैन”– काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष कार्कीले गुनासो गर्नुभयो ।
 
होटल व्यवसायी अधिकांशले घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेको हुनाले भूकम्पका कारण घर भत्किँदा व्यवसायीको सर्वस्व गुमेको पीडितको भनाइ छ । गोँगबुमा लीलानाथ भण्डारी सञ्चालक रहेका ‘भूमेश्वरी गेस्टहाउस’ र ‘न्यू स्टार गेस्टहाउस’ भूकम्पका कारण ध्वस्त भएका छन् । होटल सञ्चालनका लागि तीनवटा फाइनान्ससँग लिएको रु २५ लाख र आफन्तबाट लिएको रु २५ लाख ऋण तिर्नुपर्ने छ । तरपनि सरकारले सस्तो ब्याजमा ऋण दिएको खण्डमा पुनः होटल सञ्चालन गर्ने उहाँको भनाइ छ ।
 
सोही होटलको भवन भत्किँदा भण्डारीले श्रीमती, छोराछोरी समेत गुमाउनु प¥यो । भूकम्पका कारण श्रीमान् र छोरीसमेत गुमाएकी गोँगबुमा रहेको सिन्धुली पाँचथर गेस्टहाउसका सञ्चालक राजकुमारी पाटा मगरले पनि एकमुस्ट लगानीको हिसाबले क्षतिपूर्तिको व्यवस्था अथवा व्यवसाय व्यवस्थापनको निमित्त निश्चित् समयका लागि न्यूनतम ब्याजदरमा ऋणको व्यवस्था गरेको खण्डमा फेरि होटल नै सञ्चालन गर्ने बताउनुभयो ।
 
सामुदायीक सेवा समितिका अध्यक्ष रामकृष्ण सेराइले गोँगबु क्षेत्रमा रहेका चर्किएर जोखिम अवस्थाका घरलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । काठमाडौँ होटल व्यवसायी सङ्घले विभिन्न सङ्घ÷संस्था र व्यक्तिबाट राहत सङ्कलन गरी भूकम्पपीडित, एकल महिला र पुरूष घरवारविहीनलाई समेत राहत वितरण गर्दै आएको महासचिव पदम योङहाङले बताउनुभयो । – रासस