चितवन । चितवनलगायत छिमेकी जिल्लाहरुमा स्वास्थ्य सेवा पु¥याउँदै आएको भरतपुर अस्पतालमा पछिल्लो समय चरम् आर्थिक संकट परेको छ । माओवादी शिविरमा रहेका लडाकुको उपचार खर्चदेखि हालै गएको भूकम्पका घाइतेको उपचार खर्चसम्म सरकारी तबरबाट निकासा नगराएपछि आर्थिक वर्षको मसान्तसम्म आइपुग्दा भरतपुर अस्पतालमा भुक्तानी लिन आउनेको ताँती छ तर अस्पतालले बजेट अभावमा भुक्तानी दिन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयले घोषणा गरेअनुरूप सामाजिक सेवा एकाइमार्फत अस्पतालले गरिब, निमुखा, सीमान्तकृत, जनजाति, महिला, वृद्धलगायतको उपचार निःशुल्क गर्दै आएको छ । सोबापत पठाउनुपर्ने रकम समयमा नपाउँदा भुक्तानी गर्न नसकेको अस्पतालका लेखा प्रमुख सूर्यमणि कँडेलले बताए । मन्त्रालयले घोषणा गरेपछि एचआइभी/एड्स सङ्क्रमितको उपचार निःशुल्क गरिएको भए पनि तीन वर्षदेखि सो बापत निकासा हुनुपर्ने रु २५ लाखसमेत निकासा नभएको उनले बताए ।
कँडेलका अनुसार माओवादी शिविरमा रहेका लडाकुको उपचारका क्रममा खर्च भएको रु १८ लाख साझा स्वास्थ्य सेवा र श्रीराज मेडिकललाई अहिलेसम्म भुक्तानी हुन सकेको छैन । त्यसैगरी मन्त्रालयले श्यया निःशुल्क गरेपछि आम्दानी घटेको छ तर वार्षिकरूपमा रु २५ लाखभन्दा बढीको तन्ना, डस्ना, सिरानीलगायतका सामग्री खरिद गरिँदै आइएको छ । मासिकरूपमा रु एक लाख ४६ हजार कपडा धुन खर्च हुने गरेको अस्पतालले जनाएको छ । गत वर्षसम्मको एक करोड ५३ लाख रूपैयाँ भुक्तानी माग गरेको भए पनि निकासा हुन नसकेको कँडेलले बताए । यस वर्षको मात्र रु ५० लाख थप हुने बताइएको छ ।
यसैगरी बजेट अभावका कारण गएको वैशाख मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको ‘क’ ब्लक अधुरै रहेको छ । ठेकेदार कम्पनीलाई करिब रु २४ करोड भुक्तानी गर्नुपर्नेमा रु १८ करोड मात्र भुक्तानी भएको छ । अस्पताल विकास समितिले रु पाँच करोड भुक्तान गर्ने सहमति भएपनि हालसम्म बजेट नभएकै कारण रु एक करोड १५ लाख मात्र भुक्तानी गर्न सकेको छ । बाँकी रकम भुक्तान गर्ने अवस्थामा विकास समिति नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा माणिकलाल मानन्धरले बताए । त्यसैगरी अत्यावश्यक मानिएको ‘ग’ ब्लक निर्माणका लागि पहल भइरहेको भएपनि बजेट अभावमा निर्माण हुनसकेको छैन । सो ब्लकका लागि रु २५ करोड लाग्ने मेसु मानन्धरले बताए । वर्षात्मा ढलको अभावमा अस्पताल जलमग्न हुने गरेको छ र ढल व्यवस्थापनका लागि लाग्ने रु ६० लाख उपलब्ध हुने स्रोत छैन ।
त्यसैगरी आवास भवन जीर्ण भएका छन् भने पर्खाल भत्किएको छ । विद्युत् कटौती हुँदा जेनेरेटरको अभावमा सेवा ठप्प हुने गरेको छ । भूकम्पका कारण शल्यक्रिया कक्ष, प्रयोगशालासहित पुरानो भवन निकै जोखिम अवस्थामा पुगेको छ । बजेटको अभावमा नयाँ भवन सम्पन्न गर्न नसक्दा जोखिम मोलेर काम गराउनुपरेको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले बताए ।
भूकम्पबाट घाइते भएकाको उपचारका लागि ६५ लाख रूपैयाँ खर्च भए पनि अहिलेसम्म पाँच लाख रूपैयाँ मात्र भुक्तानी भएको छ । अस्पतालको सबै क्षेत्र आर्थिक अभावका कारण अस्तव्यस्त भएपछि मन्त्रालयमा बजेट निकासाका लागि आग्रह गरिएको अध्यक्ष सुवेदीले बताए ।
यस अस्पतालमा चितवन र छिमेकी जिल्लाका गरी वार्षिकरूपमा एक लाख ४० हजार बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालको आन्तरिक स्रोत वृद्धि गरी चालु आर्थिक वर्षमा रु २१ करोड आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि वैशाख मसान्तसम्म रु १३ करोड चार लाखमात्र आम्दानी भएको अस्पतालले जनाएको छ । सरकारी तवरबाट यस आर्थिक वर्षका लागि रु छ करोड ५० लाख मात्र भुक्तानी भएको छ । अस्पतालमा हाल सरकारी तवरबाट ३०० श्यया र विकास समितिबाट १३५ श्यया गरी ४३५ श्यया सञ्चालनमा छ । सरकारले १५४ जना चिकित्सक कर्मचारीको दरबन्दी दिएको छ भने विकास समितिले ३५० जना चिकित्सक कर्मचारीको तलब र भत्ता खुवाउँदै आएको छ ।
प्रतिक्रिया