मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका काउलेवासी तिरो तिर्न धादिङ जान्छन्

चितवनका काउलेवासी तिरो तिर्न धादिङ जान्छन्


चितवन । सामान्यतः जुन जिल्लामा जग्गा छ, त्यही जिल्लामा जग्गासम्बन्धी कारोबार हुन्छ । तर चितवनको केही गाउँका बासिन्दा भने अर्काे जिल्लामा जग्गाको तिरो तिर्दै आएका छन् । चितवनको विकट काउले गाविसका विभिन्न गाउँमा यस्तै बाध्यता रहेको छ ।
पटकपटक आग्रह गर्दा पनि सरकारले नमिलाइदिएको काउले– ९ बाँसपुरका खेमबहादुर गुरुङले बताए । उक्त गाउँमा १९ घरधुरी छन् । 
 
सबैजना जग्गाको कारोबार धादिङ जिल्लाबाट गर्दै आएका छन् । २०३६ सालदेखिकै समस्या भए पनि अहिलेसम्म समाधान नभएकोमा स्थानीयवासी पीडित छन् । पञ्चायतकालमा अगुवा बनेका धनबहादुर गुरूङ र लीलाबहादुर बस्नेतकै कारण आफूहरू यस्तो समस्यामा परेको स्थानीयवासी बताउँछन् ।
‘उनीहरूको व्यक्तिगत रिसइबीले तिरो तिर्न धादिङ जानुपर्ने बाध्यतामा पारेको र अहिलेसम्म समाधान हुन सकेको छैन’  स्थानीय सोमबहादुर गुरूङले भने ‘उबेला गाउँलेलाई दुःख दिने नियतमा यस्तो गरिएको हो ।’ 
पञ्चायतकालमा हालीमुहाली गर्नेहरूको झगडाले नियतबस यस्तो गराइदिएको र अहिले दुःख आफूहरूले पाएको स्थानीय अगुवाहरू बताउँछन् । 
मतदाता नामावली चितवनकै छ, नागरिकता चितवनकै छ । भूमि पनि चितवनमै पर्छ । चितवनकै उम्मेदवारलाई उनीहरू भोट हाल्छन् । सबै काम चितवन जिल्लाबाटै हुन्छ । तर जग्गा कारोबारमा भने धादिङ जानुपर्ने उनको भनाइ छ । 
हामीलाई साह्रै दुःख भो, सरकारले जग्गा मिलाइदिनुप¥यो, सोमबहादुरले भने । स्थानीयको समस्या रहे पनि अहिलेसम्म समाधान हुन नसकेको काउले गाविसको स्वास्थ्य चौकीका इन्चार्ज धनकुमार खड्काले बताए, ‘धादिङको सिमानामा पर्ने ती गाउँमा समस्या छ ।’
यहाँको बाँसपुर, गोगनपानी, भंगटेघारी, छापडाँडा, ठूलोपाखा र सिमलडाँडाका बासिन्दा जग्गाको कारोबार गर्न धादिङ पुग्छन् । यस क्षेत्रमा करिब २५० घरधुरी रहेको अनुमान गाउँलेको छ ।
पटक पटक नेता आउँदा र सरकारी कर्मचारी आउँदासमेत नसुनेको भन्दै अब धर्ना बस्न जाने तयारी गरेको स्थानीयवासीको भनाइ छ । रासस