मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा भूकम्पपछि मुहान सुक्यो, मूल फुट्यो

चितवनमा भूकम्पपछि मुहान सुक्यो, मूल फुट्यो


चितवन । वैशाख १२ मा आएको विनाशकारी महाभूकम्प र यसको पराकम्पनको प्रभावले धेरै क्षति पु¥याएको छ । तर, भूकम्पले कहिँभने राम्रै प्रभाव पारेको पाइयो । चैनपुर सिद्धिपुर खानेपानी आयोजनाअन्तर्गतका उपभोक्ताहरुले भूकम्पकै कारण खानेपानीको मुहान फेरेका छन् । 
 
१२ वर्षदेखि पिउँदै आएको गाउँको पानीको मुहान सुकेपछि गाउँमा पानीको अभाव भयो । पहाडको पानीको मुहान सुके पनि गाउँलेहरुले विकल्पको रुपमा तत्कालै लाखौँ खर्चेर बोरिङ खने । विगत एक वर्षदेखि सोही बोरिङको पानी पिउँदै आएका स्थानीय अहिले पुनः पहाडकै मुहानको पानी पिउन थालेका छन् ।
 
‘भूकम्पको धक्काले फेरि मुहान फुटेको छ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाणि आचार्यले भने, ‘बोरिङको पानी छाडेर उनीहरु पुनः मुहानकै पानी पिउन थालेका छन् ।’ मुहानकै पानी पिउन थालेपछि बोरिङबाट पानी निकाल्दा हुने खर्च कटौती भएको छ । 
 
जमिन हल्लिएर माटो खुकुलो भएकाले पुनः मूल फुटेको प्रमुख आचार्य बताउँछन् । हरिपुर सिद्धिपुरमात्र नभई जिल्लाका अन्य भागमा पनि सुकिसकेको पानीको मुहान फेरि फुटेपछि स्थानीयहरु दङ्ग छन् । कतिपय आयोजनाका भइरहेको पानीको मुहान सुकेपछि पानीको समस्या छ । 
 
‘पहाडी भूभागमा रहेका धेरैजसो पानीको मुहान सुकेकाले खानेपानीको समस्या भएको निवेदन हामीकहाँ परेको छ’, प्रमुख आचार्यले भने, ‘उच्च पहाडी भागमा पनि मुहान सुकेर समस्या ल्याएको छ ।’ चण्डीभञ्ज्याङ, काउले, कोराक, र सिद्धिलगायतका गाविसका उच्च भागमा रहेका स्थानीयहरु अहिले समस्यामा परेका छन् । 
 
कोराकमा रहेको स्वामीटार खानेपानी आयोजनाको मूल सुकेको छ । त्यस्तै सिद्धिमा रहेको सिद्धि खानेपानी आयोजनाको मुहान पनि सुकेको छ । मुहान नै परिवर्तन गर्नुपर्ने प्राविधिकहरु बताउँछन् । त्यस्तै, दारेचोक गाविसको सिस्नेरी रुपलाङ खानेपानी आयोजनाको पनि मुहान पुनः निर्माण गर्नुपर्ने भएको छ । टंकी मर्मत र इन्टेक मर्मतको आवश्यकता धेरै आयोजनामा देखिएको उनले बताए । कतिपय स्थानमा इन्टेक नयाँ बनाउनुपर्ने पनि देखिएको छ । त्यस्तै धेरै स्थानमा खानेपानीको पाइप परिवर्तन गर्नुपर्नेे छ ।
 
भूकम्पको धक्काले मुहान फुट्ने र सुक्ने भइरहँदा ओभरहेट टंकीहरुमा यसको असर देखिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरले दिएको जानकारीअनुसार जिल्लाका कुल ३२ स्थानमा रहेका खानेपानी आयोजनाहरुमा क्षति पुगेको छ । जिल्लामा हाल २ सयको हाराहारीमा खानेपानी आयोजना सञ्चालन छन् । 
 
एउटै गाविसमा रहेका पाँचसम्म आयोजनाहरुमा क्षति पुगेको छ । कार्यालयका अनुसार कूल ३ करोड ८३ लाख ५० हजार बराबरको क्षति भएको प्रमुख आचार्यले बताए । उक्त क्षति मर्मतका लागि आवश्यक बजेट केन्द्रमा माग गरिएको उनको भनाइ छ । 
भूकम्पपछि भण्डारा क्षेत्रमा ट्यूबेलबाट निकालिएको पानी धमिलो पाइएको भन्दै स्थानीयले पानी परीक्षणको माग गरेका थिए । केही दिनपछि उक्त समस्या स्वतः समाधान भएको प्रमुख आचार्यले बताए । साथै उनले हाल पानीमा आर्सेनिक र अन्य खराब रसायनहरु नभेटिएको जानकारी दिए ।