मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेसहारा महिलालाई आदर्शको सहारा

बेसहारा महिलालाई आदर्शको सहारा


चितवन । ‘जीवन कहिले फूल कहिले काँडा’ । यस्तै जीवन भोग्दै छिन् मकवानपुर रातामाटेकी बिन्दूमाया पाख्रिन । श्रीमान्ले छाडेपछि दुई छोरी च्यापेर आठ वर्षअघि काठमाडौं छिरेकी बिन्दूमाया दैनिक ज्यालादारीमार्फत् उतै संघर्षशील थिइन् । ज्यालादारीबाट कमाएको धेरथोर रकमबाट उनले छोरीलाई स्कुल पनि पढाएकी थिइन् । तर वैशाख १२ गते गएको भूकम्पले उनको जीवनमा थप अँध्यारो छायो । दुःख, पीडा सहँदै आएकी उनीमाथि थप बज्रपात प¥यो । 
 
‘भूकम्पले खुट्टा भाँचियो । कमाइ खानेबाटो हरायो’, उनले दुःखेसो पोख्दै भनिन्, ‘सहाराविहीन भएका बेला विपत्तिले पनि थप पीडा दिँदो रहेछ ।’
 
पाख्रिनको कंलकीस्थित भाडामा बसेको घर भूकम्पले भत्काउँदा लत्ताकपडा एवम् अन्नपात नष्ट ग¥यो । ‘म मकवानपुरबाट काठमाडौं गएपछि ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएको थिएँ । वैशाख १२ गते भूकम्पले भत्किएको घरले च्याप्दा खुट्टा भाँचियो’, उनले आफ्नो पीडा सुनाउँदै भनिन्,‘श्रीमान्ले छाडेपछि दुई छोरी लिएर चार वर्षअघि काठमाडांै गएकी थिए । जेठी छोरीले काभ्रेमा विवाह गरिन् तर कान्छी छोरीसँगै कोठामा रहेका बेला यो बज्रपात भयो ।’
 
भूकम्पले छोरीलाई केही भएन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा लामो समयसम्मको उपचारपछि कहाँ जाने भनेर अन्यौलमा रहेकी बिन्दूको ‘जहाँ समस्या त्यहाँ उपाय’ भने झँै बसोबासको टुङ्गो पनि लाग्यो । 
‘अस्पतालले सधैँ राखेर उपचार गरी राख्न पनि नसक्ने अस्पतालबाट डिस्चार्ज भएको थिएँ, मलाई आर्दश गृहले राख्ने निर्णय गरेको रहेछ’, उनले गहभरि आँसु पार्दै भनिन्, ‘मलाई आर्दश गृहमा राख्नका लागि सहयोग पु¥याउनु भएका सबैलाई धन्यवाद ।’
 
बिन्दूमायालाई आर्दश गृहमा राख्नका लागि महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता पौडेलले सहजीकरण गरेकी थिइन् । ‘श्रीमान्बाट पीडित एउटी महिला भूकम्पपीडित भएर बेसहारा भएको पाएपछि हामीले आदर्श गृहलाई उनको संरक्षण गर्न आग्रह गरेका हौँ’, उनले भनिन् । आदर्श गृहकी अध्यक्ष मीना खरेल एक असहाय महिलाकी आमा छोरीलाई संरक्षण गर्न पाएकामा खुसी लागेको बताइन् ।  
 
‘हामीले एउटा महिलाको जीवन सुरक्षा गर्न पाएका छाँै’, उनले भनिन् । अस्पताल र महिला तथा बालबालिका विकास कार्यालयको समन्वयमा उनलाई संरक्षण दिन लागेको उनले बताइन् ।
खुट्टा भाँचिएकी बिन्दूमायाको नियमित खुट्टाको उपचारसमेत गर्नुपर्ने बाध्यता छ । चितवन मेडिकल कलेजले अहिलेसम्मको उपचार निःशुल्क गरेकाले आगामी दिनका उपचार पनि निःशुल्क गर्ने अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । 
‘हामीले एउटा असहाय नारीलाई उनको पालनपोषणका लागि जिम्मेवारी लगाएका छौँ’, डा. लम्सालले भने, ‘अझै आवश्यक पर्ने उनको उपचार अस्पतालले निःशुल्क गर्नेछ ।’
आमाको खुट्टा भाँचिएर उपचार गर्न थालेपछि नौ कक्षा पढ्ने छोरीको पनि पढाइ बिथोलियो । १५ वर्षीय उनी अहिले आमासँगै गृहमै बस्ने भएकी छिन् । नेपालीको पहिचान दिने नागरिकतासमेत नभएकी बिन्दूमायालाई नागरिकता लिने अधिकार खोज्नुपर्ने जरुरी रहेको छ । 
 
श्रीमान्को पत्तो नभएका कारण उनलाई नागरिकता लिन कठिन छ । हिंसापीडित महिलाहरुको उद्धार र संरक्षणमा जुटेकी गृहकी अध्यक्ष मीना भन्छिन्, ‘अब बिन्दूमायाको नागरिकता उपलब्ध गराउने दायित्व पनि गृहकै हो ।’