मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल घुम्न आएका पर्यटक टहरा बनाउँदै

नेपाल घुम्न आएका पर्यटक टहरा बनाउँदै


गजुरी (धादिङ) । मध्य धादिङको कुम्पुर गाविसको पिप्ले जहाँ सुन्दर बस्ती भग्नावशेषमा परिणत भएको छ । अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटक भेन्कल ट्रोभेलेङ म्याटले भूकम्पले पु¥याएको विपत्ति देखे । यस्तो विपत्तिमा सहयोग गर्नका लागि उनी तयार भए । आफूले गर्ने सहयोगले कसैको घरबार राम्रो हुन्छ भने किन नगर्ने भन्ने उनको सोचाइले गर्दा सहयोग गर्न दिनरात खटिएका छन् । 
 
म्याटमात्र होइन नेपाल घुम्न आएका अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, क्यानडालगायतका नागरिक भूकम्पपीडितका लागि टहरा निर्माणको सहयोगमा जुटेका हुन् । स्विट्जरल्यान्डका नागरिक केइच हेन्वचले भने– “पर्यटकको रूपमा नेपाल घुम्न आएको भए पनि वैशाख १२ को भूकम्पले नेपालीलाई दुःख दियो । त्यो दुःखमा शारिरिक रूपमा भए पनि सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ ।”
  
मध्य जेठको हपहपी गर्मी । पसिनाले निथु्रक भिजेको कपडा पनि ठाउँ–ठाउँमा च्यातिसकेको छ । तर पसिना चुहिरहेका अवस्थामा पनि गर्मीको कुनै परवाह नगरी हातमा गल, घन र किला ठोक्ने औजार लिएर केही विदेशी अनुहार भूकम्पले क्षतिग्रस्त बनाएको पिप्लेमा भत्किएको बस्तीमा अस्थायी टहरा बनाइरहेका छन् । 
 
झट्ट हेर्दा काम गर्नका लागि विदेशबाट आएका प्राविधिक हुन भनेर जोसुकैले पनि अनुमान लगाउँछ तर बास्तविकतामा भने त्यो होइन । उनीहरू त नेपाल घुम्न आएका पर्यटक हुन् । 
 
भूकम्पले पिप्पलेमा रहेका २४ घरपरिवारको सुन्दर बस्ती एकैछिनमा भग्नावशेषमा परिणत भयो । मानवीय क्षति नभए पनि १० भन्दा बढी घरका चौपाया भग्नावशेषमा पुरिए । भूकम्पले उजाड बनाएको सो बस्तीमा उज्यालो थप्न र स्थानीयहरूको मुहारमा खुसी ल्याउनका लागि एक दर्जनभन्दा बढी विदेशी नागरिक यतिखेर खटिरहेका छन् । उनीहरूको जोश र जाँगरमा स्थानीयहरूले पनि हौसला थपिरहेका छन् । 
 
नेपालको सौन्दर्यतामा रमाउन आएका बेला नेपालमा आएको विपत्तिमा थोरै भए पनि सघाउन पाउँदा उनीहरू खुसी देखिएका छन् । 
 
डेढ महिनादेखि स्थानीय खुला स्थानमा त्रिपालमुनि बसिरहेका छन् । गाउँवासीलाई सहयोग गर्न आएका विदेशी पाहुना पनि स्थानीयसँगै बारीका पाटामा त्रिपालको अस्थायी टहरा बनाएर बस्ने गरेका छन् । 
हावाहुरी र पानी पर्दा त्रिपालको बास निकै कष्टकर बनेकामा जस्तापाताको अस्थायी घर बनेपछि अब अर्को घर बनाउन नसक्दासम्म ढुक्क भएको स्थानीय सन्तबहादुर घलेले बताउनुभयो । 
 
नेपाल घुम्न आएका विभिन्न मुलुकका विदेशी नागरिक मिलेर एक सातामा कुम्पुर गाविसको चेपाङ र घले समुदायको बसोबास रहेको स्याँखुटार, आँपटार, कोदार, कामराङ र पिप्लेमा गरी ४६५ वटाभन्दा बढी अस्थायी आवास बनाइसकेका छन् । विदेशीहरूको मेहनत देखेपछि गाउँलेहरू पनि उनीहरूका साथ लागेर काम गरिरहेका छन् । विदेशी पाहुनाको साथमा स्थानीयहरूसमेत गरी १०० जना सँगै काम गरिरहेका छन् । 
 
कुम्पुर गाविसमा रहेका दुई हजार ६२३ घरमध्ये दुई हजार ५८९ घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार ५०० शौचालयमध्ये दुई हजार ४०० शौचालयसमेत पूर्णरूपमा क्षति पुगेको कुम्पुर गाविसका पूर्व अध्यक्ष रंग थपलियाले बताउनुभयो । रासस