मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जहाँ चेपाङ महिलाहरु घरगोठमै बच्चा जन्माउँछन्

जहाँ चेपाङ महिलाहरु घरगोठमै बच्चा जन्माउँछन्


चितवन । चितवनको पहाडी गाविस दारेचोक ८ ओरेककी २७ वर्षीया कमला चेपाङको एक महिनाको काखे छोरा छ । दिनभरि काममा गएकी उनलाई काम सकेर घर फर्कदै गर्दा बाटैमा व्यथाले च्याप्यो । केहीबेरमै बाटैमा बच्चा जन्माइन् । 
 
‘काममा गएको थिएँ, उतै व्यथा लाग्यो । घर फर्कदा बच्चा जन्माएर ल्याएँ’, उनले भनिन्, ‘बच्चा जन्मिएको चार दिनबाट काममै जानु प¥यो । काम नगरे खान पाइँदैन ।’ कमलाको यो तेस्रो सन्तान हो । उनले सबै बच्चा अस्पताल नगई घरगोठमै जन्माइन् । 
 
‘बच्चा जन्माउनका लागि अस्पताल जानुपर्छ भन्छन् तर अस्पताल पर छ जानै सकिँदैन’, उनले थपिन् । कमलामात्रै हैनन् चितवनको पहाडी क्षेत्रका अधिकांश गर्भवती महिला बच्चा जन्माउन अस्पताल पुग्दैनन् । उनीहरु घरखेतमै जोखिम मोलेर बच्चा जन्माउँछन् । 
 
‘चितवनको सहरीभन्दा ग्रामीण र पहाडी क्षेत्रका गर्भवतीहरु अस्पतालमा आउने क्रम धेरै कम छ’, भरतपुर अस्पतालका प्रसूतिरोग विभाग प्रमुख डा। सुनिलमणि पोख्रेलले भने, ‘चितवनको पहाडी क्षेत्रमा जनचेतनाको अभावमा यो समस्या छ ।’
 
गर्भवती महिला अस्पताल आएर बच्चा जन्माउनेले प्रोत्साहन भत्ता पाउँछन् भन्नेसम्म जनचेतना नहँुदा समस्या भएको उनले जनाए । दारेचोक ओरेककै ६० वर्षीया सनसरी चेपाङले आफ्नो जीवनमा वर्षौटे नौ वटा बच्चा जन्माइन्  । तर बच्चा जन्मने क्रममै दुईवटाको ज्यान गयो । सबै घरगोठमै आफूले बच्चा जन्माएको उनले सुनाइन् । ‘केको अस्पताल जानु, घरमै पो जन्मिए सबै’, उनले भनिन् । 
 
सरकारले अस्पताल तथा प्रसूति केन्द्रहरुमा गर्भवती बोलाएर आमा र शिशुको सुरक्षाका लागि विशेष प्रोत्साहन भत्ता राखे पनि त्यो ग्रामीण क्षेत्रसम्म पुग्न सकेको छैन भन्ने देखिन्छ । डा। पोख्रेलले अहिले चितवनकै ग्रामीण तथा पहाडी क्षेत्रका ६० प्रतिशत महिलाले घरमै असुरक्षित ढङगबाट बच्चा जन्माइ रहेका बताउँछन् । 
 
सुरक्षित प्रसूति सेवाका लागि भरतपुर अस्पताल देशकै नमुना अस्पताल मानिन्छ । चितवन र यस आसपासका १६ जिल्लाबाट गर्भवतीहरु प्रसूति सेवा लिनका लागि यही अस्पताल आउँछन् । तर यही अस्पताल बसेकै जिल्लाको पहाडी क्षेत्रका बासिन्दालाई यो अस्पतालको सेवा पुग्न सकेको देखिँदैन । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण क्षेत्रमा स्थापना गरेका प्रसूति केन्द्रहरु पनि त्यति प्रभावकारी हुन नसक्दा थप समस्या छ ।