मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

असिनाले मकै सखाप, चेपाङ गाउँमा अनिकालको खतरा

असिनाले मकै सखाप, चेपाङ गाउँमा अनिकालको खतरा


चितवन (लोथर) । चितवनको विकट पहाडी गाविस लोथरको स्यामराङ गाउँमा अझै पनि भूकम्पको त्रास कायमै छ । चर्केका र भत्केका घरमा बस्न नसकेर गाउँलेहरु त्रिपाल र गोठमा रात बिताउन बाध्य छन् । विनाशकारी भूकम्पबाट ज्यान जोगाएका उनीहरुलाई भूकम्पका पराकम्पनहरु नसकिँदै खानेकुराको पिरलोले छोपेको छ । उनीहरु आउँदो वर्ष चाँडै नै अनिकाल लाग्ने भयो भन्ने छटपटीमा छन् ।
 
‘चैत्र, वैशाखमा भूकम्प आए पनि नआए पनि हाम्रा लागि सधैँ अनिकाल ल्याएर आउँछ । तर यो वर्ष हामीलाई भूकम्पभन्दा धेरै असिनाले रुने बनायो’ स्यामराङका नरबहादुर चेपाङले भने । चेपाङ बहुल गाविस लोथरको स्यामराङमा सबै चेपाङ समुदायका ८४ घर छन् ।
 
जेठ १८ गते आएको ठूलो असिना पानीले स्यामराङको मकै बाली सखाप पारेको छ । ‘चैत्र, वैशाखदेखि सबैको घरमा अन्न सकिन्छ । त्यसपछि जंगल गएर गिठ्ठा भ्याकुरजस्ता कन्दमूल खोजेर गुजारा चलाउने हो । यो वर्ष मकै सखाप भएपछि आउँदो वर्ष अनिकाल चाँडै सुरू हुने भयो’ स्यामराङका अगुवा वृद्ध झुयापुराम चेपाङले भने ।
 
हुर्केर चमर निस्कनै लागेका मकैका बोट असिना पानीले क्षतविक्षत गराएर भाँची दिएको छ । पात र डाँठ भाँचिएपछि मकैबारीमा पहेलै तथा सेतै भएका बोटहरु मात्रै देखिन्छन् । ‘अब यस्तो बोटमा के घोगा लाग्ला र अर्को वर्ष छाक टारौंला’ स्यामराङका सुन्दर चेपाङले भने ।
 
राम्रोसँग हुर्केको भए उनको खेतमा ८०/९० डोका मकै फल्ने गर्दथ्यो । ‘त्यति मकैले जेनतेन वर्षदिन धान्न सकिन्थ्यो । अब के गर्ने हो चिन्ता थपियो’ सुन्दरले भने । चेपाङहरु चितवनसहित मकवानपुर, गोरखा र धादिङको पहाडी क्षेत्रमा मुख्य बसोबास भएका सीमान्तकृत वर्गमा पर्ने आदिवासीहरु हुन् ।
 
‘हाम्रो बस्ती टाढा पखेरामा छ । हामी यस्तो आपत्मा परेको पनि सरकारलाई थाहा छैन । ‘भूकम्पले आपत्मा पारेको हामीलाई असिनाले थप बिजोग बनाइदियो’ झ्यापुरामले भने । मैदानमा बसोबास नभएका करण सिंचाइ नहुने रुखो पाखोमा खेती गर्ने चेपाङको मुख्य बाली नै मकै हो ।
 
‘मकैको घोँगा भाँच्नुअघि त्यहीभित्रै कोदो रोप्ने चलन छ । मकै यो पटक भाँच्न भित्र्याउन नपाइने भयो । अब यो वर्ष कोदोको भरमा मात्रै धान्नु पर्ला जस्तो छ’ स्यामराङका प्रवीण चेपाङले भने । अन्न कम हुने भएकाले चेपाङहरु कोदो, मकैसँगै सिस्नो र गिठ्ठा भ्याकुरजस्ता जंगली साग र कन्दमूलले पनि पेट भर्ने गर्छन् । चैत्र लागेपछि प्रायः चेपाङहरु कन्दमूल र सागको खोजीमा जंगल पस्ने गर्छन् ।
 
‘जंगलमा पनि सिस्नो र गिठ्ठा भ्याकुर पहिलेको जस्तो पाइँदैन । यता बारीको मकै असिना पानीले कलिलैमा सिध्याउँछ । के खाएर आफू बाँच्ने केटाकेटीको पेट भर्ने’ जंगलबाट ल्याएको गिठ्ठा खुर्कदै गरेको अवस्थामा अस्थायी छाप्रोमा भेटिएका नरबहादुरले भने ।