मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखा घ्याच्चोकमा मरेको मान्छेको नाउँमा पनि राहत !

गोरखा घ्याच्चोकमा मरेको मान्छेको नाउँमा पनि राहत !


गोरखा । भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको रु १५ हजार राहत रकमको गोरखामा व्यापक दुरूपयोग भएको पाइएको छ । गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरूको नाउँमा र मरेका मानिसको नाउँमा पनि राहत रकम बाँडेको पाइएको हो । 
 
महाभूकम्पको केन्द्रविन्दू बारपाक गाविसको छिमेकी घ्याच्चोक गाविस–३ का रूपसे गुरुङको भूकम्प आउनुअघि नै मृत्यु भइसकेकोमा उनको नाउँमा पनि गाउँलेले राहत सामग्री बुझेका छन् । रूपसेका आफन्त घ्याच्चोकमा बस्दैनन् । 
 
त्यस्तै, रु १५ हजार राहत वितरणमा पनि अनियमितता भएको पाइएको छ । हार्भी गाविस–९ का हीराबहादुर सापकोटा र खड्कबहादुर सापकोटाले आफूहरू छुट्टिई भिन्न भइसकेको भनी झुठो बोलेर रु १५÷१५ हजार राहत रकम बुझेका हुन् । हंशपुर, खरिबोट, छोप्राक, देउराली, मिरकोट, धुवाँकोटलगायत गाविसमा पनि राहत वितरणमा अनियमितता भएको पाइएको छ ।
 
घरमा एकभन्दा धेरै दाजुभाइ हुनेले छुट्टिई भिन्न भएको भन्दै राहत रकम दाबी गर्दै आएका छन् । गाविस कार्यालयमा ‘राहत पाऊँ’ भन्दै नक्कली भूकम्पपीडितले बुझाएको निवेदनको चाङ् रहेको गाविस सचिवहरू बताउँछन् । सचिवहरूका अनुसार वडास्तरीय संयोजकहरूले नक्कली भूकम्पपीडितलाई सहयोग गरेका छन् । घर नभएकालाई पनि वडा संयोजकले सिफारिस दिएर राहत लिन योग्य बनाएको पाइएको छ । 
 
साथै, केही गाविसमा भने जिम्मेवारी पाएका कर्मचारीले चौतारामा बसेर ध्वस्त घरधुरी सङ्ख्या अनुमान गर्ने र प्रतिवेदन जिल्ला दैवी प्रकोप उद्धार समितिमा बुझाउने गरेको भूकम्पपीडितले गुनासो गरेका छन् । गाविसका विभिन्न वडामा रहेका ध्वस्त घर प्रतिवेदनमा छुटेको पाइएको छ । 
 
घ्याच्चोकका वीरबहादुर घलेका अनुसार गाउँमा राहत वितरण प्रक्रिया भद्रगोल छ । “वास्तविक भूकम्पपीडितले राहत रकम पाएकै छैनन्” उहाँले भन्नुभयो – “पहुँचवालाले अनेक बहाना बनाएर रकम बुझे ।” 
 
राहत वितरणको जिम्मेवारी पाएर घ्याच्चोक गएका गोरखा नगरपालिकाका कर्मचारी धु्रव घिमिरे घ्याच्चोक गाउँ पुग्नु भएको छैन । उहाँ मातहतका अन्य कर्मचारी घ्याच्चोक पुगेर राहत वितरण गरिसके । बिरामी भएकाले आफू घ्याच्चोक जान नसकेको घिमिरेले प्रतिक्रिया दिनुभयो । 
 
जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले नक्कली भूकम्पपीडितले राहत बुझेको प्रमाणित भए पैसा फिर्ता ल्याउने र कारबाही गर्ने बताउनुभएको छ । 
 
“नक्कली भूकम्पपीडितले रकम बुझेको भन्ने विभिन्न ठाउँबाट गुनासो आएको छ”, – उहाँले भन्नुभयो, “पुष्टि भयो भने पैसा फिर्ता लिएर कानुनअनुसार आवश्यक कारबाही गर्छौं ।” रासस