चितवन (माडी) । देशमा सशस्त्र संघर्ष चलेका बेला चितवनको माडीमा यात्रुबसलाई निसाना बनाएर माओवादीले राखेकोे धराप विष्फोट हुँदा तत्कालै ३५ जना सर्वसाधारण र तीनजना सेनाको निधन भएको शनिबार १० वर्ष पूरा भएको छ । सो घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त र घाइतेहरु अझै आफूलाई न्याय नभएको गुनासो गरिरहेका छन् ।
पीडितहरुले घटनाका दोषीलाई कारबाही हुनुपर्ने र अन्य काम गरेर खान नसक्ने भएका सो घटनाका घाइतेहरुलाई जीवनभर बाँच्ने आर्थिक आधारको ग्यारेन्टी गर्नुपर्छ भन्दै आएका छन् । ‘अहिलेसम्म यी दुबै कुरा पूरा भएनन् अनि कसरी न्याय पायौं भन्ने,’ बाँदरमुढे घटनापीडित तथा घाइते समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भने ।
२०६२ सालको जेठ २३ गते बिहान आठ बजे यात्रुहरुले खचाखच सार्वजनिक यातायताको बस बाँदरमुढे खोलामा आएपछि बम विष्फोटमा परेको थियो । खोलामा विष्फोटक राखेर त्यसमा तार जोडेका माओवादीले घटना स्थलभन्दा दुई सय मिटर पर लुकेर विष्फोट गराएका थिए । घटना स्थलमै ३८ जनाको ज्यान जानुका साथै ७२ जना घाइते भएका थिए ।
घटना सार्वजनिक भएलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहलले प्रेश विज्ञप्ती निकालेर यो घटना ‘जनयुद्ध’कालकै सबैभन्दा दुःखद भएको भन्दै माफी मागेका थिए । अनुकूल समयमा माडी गएर पीडितका अगाडी नै माफी माग्ने घोषणा दाहालले सोही बेला गरेका थिए । घटना भएको १० वर्ष पूरा भए पनि अध्यक्ष दाहालले सो बेला गरेको बाचा अझै पूरा गरेका छैनन् ।’
माडी जान्छु र माफी माग्छु भन्ने सामान्य बाचा पनि पूरा गर्न सक्नु भएन । अनि उहाँहरुबाट पीडितलाई न्याय होला भनेर कसरी सोच्ने,’ बाँदरमुढे घटना पीडित तथा घाइते समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने । घटनापछि दाहालले २०६३ सालको कात्तिकमा मृतकका आफन्त र घाइतेहरुलाई भेटेका थिए ।
माडीभन्दा धेरै वर सदरमुकाम भरतपुर नजिकको फूलबारी गाउँमा पीडितहरुलाई दाहलसँगै पार्टीका नेताहरु बाबुराम भट्टराई, रामबहादुर थापा लगायतले भेटेर छलफल गरेका थिए। सो भेटमा पनि दाहालले पीडितहरुलाई राहतको प्याकेजसहित माडीमै आउने र माफी माग्ने बताएर बिदा भएका थिए । तर माओवादीका जिल्ला नेता र बाँदुमुढे घटना पीडितबीच सम्बन्ध बिग्रदै गयो। दाहाल आउँदा घटनाका दोषिहरुको नाम सार्वजनिक गर्नु पर्ने र उनीहरुलाई आफूहरुका अगाडी ल्याउनु पर्ने अडान पीडितहरुले राखेपछि माडी आउनका लागि तय भएको कार्यक्रमसमेत दुई दुई पटक स्थगित भएको थियो। पछि सेना र पीडित मिलेर बाँदरमुडेमा स्मारक तयार गरेका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल घटनापछि पहिलो पटक ७० सालको फागुनमा माडी गएका थिए । बाँदरमुढे घटनाका पीडित र घाइतेलाई भेट्नभन्दा पनि माडीमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्न उनी प्रमुख अतिथि भएर हेलिकप्टरबाट माडीमा ओर्लिएका थिए । पीडितहरुले दाहालको विरोधमा प्रर्दशन गरे । प्रदर्शनकारीहरु गिरफ्तारसमेत भएका थिए । सो कार्यक्रममा बोल्दा माओवादी अध्यक्ष दाहालले बाँदरमुढेमा घाइते भएकाहरुको आर्थिक उपार्जनमा सघाउनका लागि सरकारसँग निर्णय गराएर ६० लाख रुपैयाँ बराबरको प्याकेज निर्माण गरेको बताए। तर सरकारी अधिकारीहरुले त्यस्तो कुनै प्याकेज तयार नभएको भन्दै दाहालको घोषणाको खण्डन गरेपछि ६० लाखको प्याकेज हात्ती आयो हात्ती हायो फुस्सा सरह भयो।
घटना हुँदा पार्टीको सचिव रहेका यमबहादुर परियार अहिले एकीकृत नेकपा माओवादी चितवनको अध्यक्ष छन् । पीडितहरुलाई पर्याप्त क्षतिपूर्ति दिन राज्यले चाहना नदेखाएकै हो । उहाँहरुका गुनासो व्यवस्थापनमा हाम्रा तर्फबाट पनि सकेजति काम हुन सकेन होला । हामी आफ्ना कमजोरीहरु स्वीकार गर्दछौं,’ अध्यक्ष परियारले भने । संक्रमणकालमा सोचे जसरी काम गर्न नसकिएको उनले बताए । ‘सत्य निरुपण तथा मेलमिलाप आयोगबाट पीडितका चाहनाहरु पुरा हुनेछन् भन्ने आशा राखौं,’ परियारले भने । तर आफ्ना मागहरु आयोगबाट पुरा हुने र न्याय पाउनेमा पीडितहरु आशावादी देखिएका छैनन्। पीडितहरु प्रति साहनुभुतिसमेत नराखेकाले न्याय पाउँला भन्ने आशा हराएको उनीहरु बताउँछन् ।
‘जनयुद्ध’कालको फौजी कारबाहीमध्ये सवैभन्दा दुखद र गम्भिर घटना भनेर पार्टीले स्वीकार गरेर पनि पीडितहरुलाई ढाँटेको ढाँट्यै गरेकाले विश्वास हराएको पीडित समितिका उपाध्यक्ष अधिकारी बताउँछन् । ‘खै त यो घटना र यसका दोषिलाई कारवाही गर्ने विषयमा संसदमा कुरा उठेको ? माओवादी मात्रै होइन अरु दल पनि यस्तै देखिए’, अधिकारीले भने । घटनापछि १२ जना व्यक्तिहरु कुनै काम गरेर खान नसक्ने अपाङगताको शिकार भएको अधिकारी बताउँछन् ।’
प्रतिक्रिया