चितवन । सडकमा झुत्रो कपडा लगाएर ठूलाठूला बोरा बोकी हिँड्ने सडक बालबालिकाहरुलाई देख्नेबित्तिकै जो कोहीले पनि छिःछीः र दूरदूर गरेको देखिन्छ । तर उनीहरु किन र कसरी सडकमा त्यो अवस्थासम्म आइपुगे भन्ने सम्बन्धमा भने कसैकोे ध्यान गएको पाइँदैन ।
ठूला बोरामा कवाडका सामान बोकेर हिँड्नेको भीडमा १३ वर्षीय डम्बरले आफू गरिबी र भोकमरीको कारण सडकसम्म आउनुपरेको बाध्यता सुनाए । ‘बुवाको अत्याधिक रक्सी सेवनका कारण अकालमै मृत्यु भएपछि घरमा अनिकाल लाग्यो’ उनले भने ‘जीविकोपार्जनका लागि आमाले मजदुरी गर्ने भए पनि घरमा खान पुगेन् । अनि मैले घर छोड्नु प¥यो ।’
सडकमा आउनुअघि उनी आफ्नो जीविका चलाउन नारायणगढको एउटा होटलमा काम गर्ने गरेको बताए । होटलमा कामको बोझ, साहुजीको दुव्र्यवहार र काम गरेको पैसा नदिएकोले उक्त काम छोडी सडकमा आएको उनले स्मरण गरे ।
अहिले उनी कवाडी सामानहरु बेचेर दैनिक तीन सयदेखि चार सय रूपैयाँसम्म कमाइ गर्ने गरेको बताउँछन् । तर, कमाइको पैसाले उनी साथीहरुसँग मिलेर चुरोट, सुर्ती, ग्लु, रक्सी तथा खानामा खर्च गर्ने गरेको बताउँछन् ।
उनीजस्तै अर्का सडक बालक विनयले आफू करिब तीन वर्षदेखि सडकमा जीवन बिताइरहेको बताए । उनले आफूलाई प्रहरीदेखि निकै डर लाग्ने गरेको अनुभव सुनाए । ‘पोहोर साल एक दिन हामी पाँचजनालाई पुलिसले निर्घात पिटेको थियो’ उनले भने । चोरीको आरोपमा प्रहरीले आफूलाई कुटेको उनले बताए ।
आफूहरुले कुनै नराम्रो काम नगरेको भए पनि ‘खाते चोर’ भन्दै कुटाइ खानु परेको दुःखेसो पोखे । ‘त्यसैले हामी यसै चोर, उसै चोर भनेर परिआए चोर्न पनि पछि पर्दैनौँ’ उनले थपे । ‘दुई वर्षअगाडि हो मैले चुरोट तान्न सुरू गरेको विनयसँगै बसेका उनका साथी हिमालले गर्वका साथ भने, ‘अहिले ग्लु, गाँजा, चरेश र रक्सी पनि खान्छु ।’ तर अहिले उनी चाहेर पनि यो कुलत छाड्न नसकेको गुनासो गरे ।
‘जब म ग्लु सुघ्छु आफू स्वर्गमा पुगेको गरेको महसुस हुन्छ, उनले भने । यसबाट चिसो, तातो, भोक, तिर्खा बिर्सने र कवाडी बटुल्न फूर्ति आउने बताए ।
पीडालाई बिर्सनैको लागि उनीहरु लागूपदार्थको सहारा लिएको सजिलै बुझ्न सकिन्छ । यी बालकहरु चितवनमा रहेका करिब १५० को संख्यामा सडक बालबालिकाहरुको केही उदाहरणमात्र हुन् । उनीहरुजस्तै अरु धेरै बालबालिका सडकमा दयनीय अवस्थाबाट गुज्रिरहेका छन् । तीमध्ये करिब ११५ जना जति सडक बालबालिकाहरु दियालो परिवार नारायणगढको सम्पर्कमा रहेको दियालोका कार्यकारी निर्देशक केदारनाथ खनालले बताए ।
दियालोले आफ्नो संस्थाको सम्पर्कमा रहेका सडक बालबालिकाहरुलाई सामाजिकीकरण र पारिवारिक पुनर्मिलन गर्दै आइरहेको उनले जानकारी दिए । सामान्यतः बालबालिकाहरु पारिवारिक हिंसा, गरिबी, सहरप्रतिको आकर्षणलगायतका कारणले सडकमा आएको पाइएको उनको भनाइ छ ।
उनीहरुलाई दुव्र्यसनीबाट नछुटाएसम्म सडकबाट मुक्त गर्न नसकिने कार्यकारी निर्देशक खनाल बताउँछन् । उनीहरु एकाग्र भएर एकै ठाउँमा बस्न नसक्ने चनचले बानी भएकोले पनि काउन्सिलिङ दिन निकै कठिन भएको उनको भनाइ छ ।
सडकमा बालबालिकाको संख्यामा कम गर्नको लागि सबैभन्दा पहिला उनीहरुको घरपरिवारमा सचेतना कार्यक्रम पु¥याइ ती परिवारहरुलाई आत्मनिर्भर हुनसक्ने बनाउनुपर्ने उनको राय छ ।
सडकमा बालबालिकाहरुलाई सबैतिरबाट जोखिम छ भन्ने उनीहरुलाई अवगत गराउन सके पनि सडकमा बालबालिकाहरु आउन केही कम हुनसक्ने उनले बताए ।
प्रतिक्रिया