दारेचोक, चितवन । दारेचोक गाविस–८ ओरेकका पदम चेपाङ ३१ वर्षका भए । उनकी श्रीमती सुनिता २६ वर्षकी । उनीहरुका चार सन्तान छन् । अब सन्तान थपिने चिन्ता छैन उनको परिवारमा । पद्मले स्थायी बन्ध्याकरण गरेका छन् । उनी ओरेककै स्थायी बन्ध्याकरण गर्ने एकमात्रै चेपाङ हुन् ।
‘२०६६ सालतिर हो कान्छो छोरो जन्मिएपछि गाविसका कर्मचारीहरुले परिवार नियोजन गर्नुपर्छ भने अनि मैले गरेँ’, गोविन्दले भने, ‘परिवार नियोजन नगरेको भए अहिलेसम्म अझै बच्चा जन्मिसक्थे होला ।’
गाविस भवनमै सञ्चालन भएको शिविरमै पुगेर आफूले बन्ध्याकरण गरेको उनले सुनाए । “अरुको धेरै छोराछोरी देखेर धेरै छोराछोरी पाउनु हुँदैन भन्ने लाग्थ्यो’, उनले भने, ‘अहिले चारैजना छोरालाई स्कूल पढाएको छु ।’
२०६० सालमा विवाह भएको बताउने चेपाङ दम्पतीका जेठो छोरा ११ वर्षका भए । उनी शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको छात्रावासमा बसेर पढ्दै छन् । अरु छोराहरु भने घरनजिकैको प्राथमिक विद्यालयमा पढ्दै गरेको उनले जनाए ।
चेपाङ समुदायमा परिवार नियोजन गर्न हुँदैन भन्ने गलत मान्यता छ । परिवार नियोजन गरे देउता रिसाउँछन् भन्ने गलत मान्यताकै कारण चेपाङ समुदायमा बालबच्चा धेरै हुने र उनीहरुमा शिक्षादीक्षा दिन गाह्रो पर्ने गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् । श्रीमान्ले स्थायी बन्ध्याकरण गरेकामा उनकी श्रीमती सुनिता पनि खुसी छन् ।
‘आफूहरुले त पढिएन्, छोराछोरी पनि पढाउन नसकिने हो कि भन्ने थियो । तर, अहिले उनीहरुलाई शिक्षित गराउन सकिएको छ’, उनले भनिन् ।
ओरेकमा १९ घर परिवार छन् । उनीहरुमध्ये अधिकांश चेपाङका हुन् । चेपाङ परिवारमध्ये पदममात्रै एक हुन् जसले परिवार नियोजन गरेका छन् । ओरेक गाउँमा अस्थायी परिवार नियोजनका बारेमा भने केही जानकारी रहेको पाइयो ।
‘त्यो तीन महिने सुई लगाउने कुरा त थाहा छ । तर, स्थायी बन्ध्याकरण भनेको के हो ?’, भरखरैमात्रै सन्तान जन्माएकी २७ वर्षीया कमला चेपाङले भनिन् । उनको एक महिनाको छोरो छ । यो उनको चौथो सन्तान हो ।
तीन महिने सुई संगिनीले यहाँका महिलाहरुले जन्मान्तर भने पछाडि सारेको छ । उनीहरुलाई अस्थायी साधनका बारेमा स्थानीय महिला स्वयम्सेविकाहरुले सचेत गराउँदै आएका छन् ।
ओरेककै ६० वर्षीया सनसरी चेपाङका ९ सन्तान छन् । उनी भन्छिन्, ‘खै वर्षेनी सबै बच्चा घरमै जन्मिए, केही पनि थाहा भएन पो ।’
दारेचोकको कुरिनटारभन्दा माथिल्लो भागमा रहेका कारण पनि यहाँका बासिन्दाको किनमेल गर्ने थलो कुरिनटार नै हो । आर्थिक रुपमा यस क्षेत्रका बासिन्दा विपन्न छन् । गरिबीका कारण अशिक्षित हुँदा यहाँका बासिन्दामा परिवार नियोजनसम्बन्धी चेतना त्यति देखिँदैन ।
निरक्षर नै भएर पनि पदम र सुनिताको यो उदाहरणीय कार्यले भने चितवनको विकट क्षेत्रमा बसोवास गर्ने चेपाङ समुदायमा पनि बिस्तारै यसको चेतना जाग्दै छ भन्ने देखाएको छ । पदम भन्छन्, ‘अब सन्तान करले होइन, रहरले जन्माऊँ भन्ने सन्देश दिन जरुरी छ ।’
प्रतिक्रिया