मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन निकुञ्जमा सौराहा माडी जोड्ने नयाँ पदमार्ग तयार

चितवन निकुञ्जमा सौराहा माडी जोड्ने नयाँ पदमार्ग तयार


कसरा, चितवन । पर्यटकीय क्षेत्र सौराहा र माडी जोड्न चितवन राष्ट्रिय निकुञ्जभित्र नयाँ पदमार्ग तयार भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर शुक्रबार साने पदमार्गको औपचारिक आरम्भ गरियो । भूकम्पका कारण पर्यटक आवागमन ठप्प भए पनि पर्यटक आउन थालेपछि सौराहा–माडी जोड्न सहज हुने निकुञ्जका अधिकारीहरुले बताएका छन् ।
 
सौराहानजिकको खोरसोरबाट पटिहानी छितामाई मन्दिरसम्म यसअघि नै पलमार्ग तयार भएको थियो । शुक्रबारबाट चालु भएको नयाँ पदमार्ग छितामाइदेखि राप्तीपारीको निकुञ्जको पोष्ट जर्नेली हुँदै माडीसम्म पुग्ने छ । निकुञ्जभित्रको चुरे पहाड छिचोलेर सो पदमार्ग माडीको बोटे सिमरा निस्कने छ । छितामाइदेखि माडी साढे ११ किलोमिटर र छितामाईदेखि खोरसोर नौ किलोमिटर छ ।
 
‘यो पदमार्ग चालू भएपछि पर्यटनको उच्च विकास भएको सौराहा, पर्यटनको विस्तार हुँदै गरेको पटिहानी र भर्खर पर्यटनको सुरुवात हुन लागेको माडी जोडिने छ’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने । सौराहाबाट दुई दिन लगाएर माडी निस्कन चाहने पर्यटकका लागि यो पदमार्ग निकै उपयोगी हुने कुँवरले बताए ।
 
चरा प्रेमी पर्यटकहरु यो पदमार्गमा आकर्षित हुने उनको विश्वास छ । ‘खास गरेर निकुञ्जले पर्यापर्यटनमार्फत् स्थानीयको जीवनस्तरमा सुधारका लागि उपार्जनमा सहयोग गर्ने नीति लिएको छ । यो पदमार्गले त्यसलाई टेवा दिन्छ’ प्रमुख संरक्षण अधिकृत कँुवरले भने । निकुञ्जमा पाइने दुर्लभ जनावर गैँडा, बाघ पनि सो क्षेत्रमा छन् । हरिणका झुण्ड र गौरी गाईको बथान पनि त्यही क्षेत्रमा देख्न पाइन्छ ।
 
‘पर्यटकहरुका लागि पदमार्ग गर्न मिल्ने नै भयो । यसका साथै हामी निकुञ्जबाट पनि नियमित गस्तीका लागि यो मार्ग सदुपयोग हुन्छ । फायर लाइन ९अग्नी रेखा० हुने भएकाले डढेलो पनि नियन्त्रण हुन्छ’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने । यसका साथै माडी जाने नियमित बाटोमा बाढी कटानले समस्या आए विकल्पका रुपमा यसलाई पनि प्रयोग गर्न मिल्ने उनले बताए ।
 
‘पर्यटन विस्तारमा यो पदमार्ग सहयोगी हुन्छ । तर यसको प्रवद्र्धनका लागि निकुञ्जले अझै धेरै कामहरु गर्न आवश्यक छ’ चितवन निकुञ्जअन्तर्गतको माडी बघौडा मध्यवर्ती उपभायक्ता उप समितिका अध्यक्ष प्रभु महतोले भने । 
 
निकुञ्जका जनावरहरुका साथै गाउँमा थारु र अन्य जात जातिका सांस्कृतिक रहनसहनले यो क्षेत्रमा पर्यटकीय सम्भावना प्रचुर रहेको महतोको भनाइ छ । माडीमा होटलहरुको सम्भावना भए पनि तत्कालका लागि समुदायले होमस्टे सञ्चालन गर्ने योजना बनाएको महतोको भनाइ छ । 
 
माडीको अयोध्यापुरी शिवद्वारमा मगर समुदायले होमस्टे सुरू गरेको उनले जानकारी दिए । विस्तारै अन्यत्र पनि होमस्टेहरु खुल्ने उनको भनाइ छ । शिवद्वारदेखि सिधै सौराहा जाने पदमार्ग पनि परीक्षणको चरणमा छ ।
‘यो पदमार्गले निकुञ्जको पुर्व, मध्य र माडी क्षेत्रलाई जोड्न निकै ठूलो मद्दत गर्छ । संरक्षणको प्रतिफल पर्यटनमार्फत् समुदायमा जान सहयोग पुग्छ’ पटिहानी मध्यवर्ती उपभोक्ता समितिका सचिव बोधराज सापकोटाले भने । 
 
चितवन निकुञ्जमा भूकम्पका कारण पर्यटकहरु नआए पनि समन्य अवस्था रहँदा यहाँ पौने दुई लाखको हाराहारीमा स्वदेशी विदेशी पर्यटकहरु आउने गरेका छन् ।