मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जग्गा कब्जा गरी भूकम्पपीडितलाई टहरा निर्माण

जग्गा कब्जा गरी भूकम्पपीडितलाई टहरा निर्माण


चितवन । भरतपुरको कैलाशनगरमा रहेको निजी १० बिघा जग्गामा गोरखाबाट आएका भूकम्पपीडितले धमाधम टहरा बनाएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षका नेकपा माओवादीले जग्गा कब्जा गरेर भूकम्पपीडित राखेको भन्दै विरोध पनि सुरू भएको छ । यो अवस्था आउनुमा जग्गाको स्वामित्वका विषयमा दाजु भाइबीचको घरायसी झगडा कारक देखिएको छ । 
 
घरायसी झगडा चन्द माओवादीसमक्ष पुगेपछि त्यस जग्गामा अहिले उसले भूकम्पपीडितलाई ल्याएर राख्ने मौका पाएको हो । भूमिसुधार मन्त्रालयको पूर्वसचिव नारायणविक्रम शाहका छोरा र उनका माइला भाइ शान्तविक्रम शाहका परिवारबीच जग्गाको स्वामित्वका विषयलाई लिएर विवाद भएको जग्गामा चन्द नेतृत्वका माओवादीले गोरखाका भूकम्पपीडितलाई ल्याएर राखेका हुन् । भूकम्पपीडितहरु त्यस जग्गामा धमाधम चिटिक्कका टहरा हालेर बसेका छन् । 
 
जेठ १२ गतेयता गोरखाका २० भन्दा बढी गाविसका ५५० परिवारहरु टहरा बनाएर बसेका छन् । माओवादी चितवनका सेक्रेटरी महेश चौधरीले भने ‘गोरखाका २५ गाविसका साढे ५ सय परिवार बसिसकेका छन् । आइतबार लमजुङ, सिन्धुपाल्चोक, धादिङलगायतका ठाउँबाट भूकम्पपीडितहरु आउन थालेका छन् ।’
 
जग्गामा टहरा बनाएर बसेकालाई तत्काल हटाउन प्रशासनमा निवेदन परेको छ । नारायणविक्रमका छोरा विजय शाहले प्रशासनमा निवेदन दिएपछि शनिबार सर्वदलीय बैठक बसेको थियो । ‘गोरखाबाट आएकाहरु बसेका छन् भन्ने सुनियो । उनीहरुको विवरण संकलन गरेर गोरखा पठाउने र बस्ने व्यवस्था तत्काल गोरखामा मिलाउने निर्णय भएको छ’ चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकेले भने ।
 
माओवादीका सेक्रेटरी चौधरी गोरखा पठाउने र त्यहाँ राख्न नसके उनीहरुको व्यवस्थापनका लागि सरकारसँग अनुरोध गर्ने सहमति भएको बताउँछन् । छाप्रामा बस्नेहरुले आफूहरुलाई माओवादीले यहाँबाट नहट्न भनेको बताउँछन् । 
 
‘उठ् भन्दैमा नउठ्नु । तगेर बस्नु भयो भने कसैले उठाउन सक्दैन भनेका छन्’ अस्थायी छाप्रामा बसेकी गोरखा खोप्लाङ वडा नं. ६ की बिमला भुजेलले भनिन् । ‘माओवादी सेक्रेटरी महेश चौधरी नै आएर हामीलाई तपाइँहरुलाई छुट्टाई दिएको जग्गामा बस्नूस् । पछि सरकारले जग्गा किन्यो भने जानु होला, त्यो बेलासम्म कुरेर बस्नूस भन्नुभएको छ’ गोरखा स्वाँरा–  ८ सिरानथरका सुरज सुनारले भने । चितवनमा जग्गा बाँडेको छ भन्ने सुनेपछि आफूहरु गाउँबाट आएको भूकम्पपीडितहरुले बताएका छन् । 
 
उनीहरु बसेको जग्गामा स्वामित्व दाबी गर्दै आएका नारायणविक्रमका भाइ शान्तविक्रमका छोरा विवेक शाहले भूकम्पपीडितहरु अस्थायी रुपमा त्यहाँ बस्छन् भने मानवीयताका हिसाबमा तत्काल हटाउन उपयुक्त छैन भन्छन् । ‘अस्थायी रुपमा बस्छु भनेका छन् । अन्यत्र व्यवस्था नभएसम्म गैहाल भन्नु राम्रो हुँदैन’ विवेकले भने ।
 
आफ्नो बुबा शान्तविक्रमले ठूलो बुबा नारायणविक्रमलाई बिघाको तीन हजार रूपैयाँ दिएर विसं. २०३२ सालमा जग्गा लिएको उनले जानकारी दिए । ‘कान्छो बुबा इन्द्रविक्रम शाहले अंश मुद्दाको विवाद झिकेपछि अदालतले रोक लगाएका कारण पैसा तिरे पनि जग्गा नामसारी हुन पाएन’ विवेकले भने, ‘६८ सालमा अदालतले जग्गा फुकुवा गरेपछि नामसारी गर्न ठूलो बुबाको परिवार तयार नभए हुन् ।’
 
विवेकले भने, ‘बुबाले विश्वास गरेर त्यो बेला चलेको मूल्यअनुसारको पैसा तिर्नु भयो । तर मुद्दा मामिलाका कारण जग्गा नामसारी हुन पाएन । जब फुकुवा भयो त्यसपछि ठूलो बुबाको परिवार नामसारी दिन तयार भएन’ जग्गाको आयस्ता लिने र तिरो तिर्ने काम पहिलेदेखि शान्तविक्रमको परिवारले गर्दै आएको छ । नारायणविक्रमको परिवारले शान्तविक्रमविरूद्ध ५९ सालमा मुद्दा हालेको छ ।
 
जग्गाको स्वामित्वका विषयमा चितवन जिल्ला अदालतमा दायर भएको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । यो विषयमा नेकपा माओवादी र दुबै शाह परिवार र जग्गा अधियाँ गर्ने किसान परिवारबीच सहमति भएको माओवादी सेक्रेटरी महेश चौधरीले दाबी गरे ।
अदालतबाट मुद्दा किनारा नलाग्दासम्म जग्गाको संरक्षक माओवादी बस्ने र आयस्ता शाह परिवारले नभएर अधियाँ गर्ने किसानले खाने सहमति भएको उनले बताए ।
 
‘विसं २०७० सालको पुस एक गते यस्तो सहमति भएको छ । त्यसैले त्यहाँको जग्गाको बारेमा हामी जानकार थियौं । गोरखामा भूकम्पपीडितको साह्रै नै विजोग भएपछि यहीँ ल्याएर राखेका हौं । जसमा एक पक्ष विवेक शाहको सहमति नै छ’ माओवादी सेक्रेटरी महेशले भने । टहराका लागि जस्ताको जोगाड गर्ने र खाद्यान्न जुटाउन माओवादी नै लागिरहेको छ ।
 
‘नेत्रविक्रम चन्दको छोरा प्रकाश यही आडैको चितवन मेडिकल कलेजमा पढ्नुहुन्छ । यहाँको प्रयासमा जस्ता जुटाइएको हो । खाद्यान्नका लागि हाम्रा व्यवसायी साथीले सहयोग गरेका छन्’ पार्टीको मजदुर संगठनका जिल्ला संयोजक भीमबहादुर खड्काले भने । गाउँमा पशुचौपाया कुहिएर गन्हाएर बस्नै नसक्ने भएका कारण आफूहरु चितवन आएको स्वारा गाविसका राजन सुनारले बताए । 
 
चन्द पक्षका माओवादीले राखेको टहरामा गोरखाका भूकम्पपीडितहरु ।