मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपश्चात् चितवनको पर्यटन व्यवसाय धराशायी

भूकम्पपश्चात् चितवनको पर्यटन व्यवसाय धराशायी


सौराहा । विनाशकारी भूकम्पपछि सबैभन्दा ठूलो मार पर्यटन व्यवसायमा परेको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चिनिएको सौराहामा यतिबेला पर्यटकहरुको खडेरी परेको छ । 

सौराहाका ठूला होटेलहरु सुनसान छन् । पर्यटकहरुको चहलपहल कतै देखिँदैन । पर्यटकहरुलाई सैर गराउनका लागि भनेर पालिएका हात्तीहरु पनि फाल्तु छन् । होटलका सञ्चालकहरुले कति कर्मचारीहरुलाई आधा तलब दिएर घरफिर्ता गरेका छन् भने कति कम तलबमा काम गरिरहेका छन् । 

भूकम्पपछिको यो एक महिनामा सौराहाको होटेल व्यवसायीलाई लगभग ६ करोड घाटा सहन परेको छ । ‘भूकम्पका कारण पर्यटकहरु नआएपछि भूकम्पपछिको एक महिनाको अन्तरालमा करिब ६ करोड रूपैयाँ बराबरको घाटा परेको छ’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानबहादुर विष्टले भने, ‘तर पनि सौराहाका होटल व्यवसायी हरेश खाएका छैनन्, होटल व्यवसायीले विभिन्न प्याकेजका कार्यक्रम ल्याउने तयारी गरेका छन् ।’ पर्यटकहरु भित्र्याउनको लागि सस्तोमा लजिङ फुडिङको प्याकेज तयार गर्न व्यवसायीहरु कस्सिएका छन् । 

हात्ती सैरका लागि प्रसिद्ध मानिएको सौराहामा अहिले पर्यटकहरुको अभाव भएपछि लाखौं पैसा हालेर किनिएका हात्तीहरु कामविहीन बनेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाका अध्यक्ष बलराम दाहालले बताए । 

‘एउटा हात्ती पाल्दा एक महिनामा करिब ८० हजार खर्च हुन्छ’ उनले भने, ‘अबको पाँच महिनासम्म पर्यटकबिनाको स्थिति गुजार्न परेमा पालिएका सबै हात्तीहरु राष्ट्रिय निकुन्जमा छोड्न बाध्य हुन्छौँ ।’ सौराहामा करिब पाँच दर्जन हात्तीहरु सहकारी संस्थाअन्तर्गत पालिएका छन् । 
पर्यटक आउने सिजन भए पनि भूकम्पका कारण लज शून्य भएको जंगल सफारी लजका म्यानेजर अर्जुन सापकोटाले भने । ‘१२ गतेको भूकम्पपछि पर्यटकको संख्या शून्य छ’ उनले भने, ‘सौराहामा पर्यटन व्यवसाय डामाडोल भएको छ ।’ कहिलेकाहीँ आन्तरिक पर्यटकहरु आउने गरेको भए पनि बाह्य पर्यटक भने शून्य रहेको उनले बताए । भूकम्कको त्रासले आन्तरिक तथा बाह्य दुवै पर्यटकहरुको मन्दी लागेको उनको भनाइ छ ।

‘पहिले यहाँका सबै होटलहरु व्यस्त हुने गर्थे’ उनले भने, ‘अहिले होटलमा स्टाफ बाहेक कोही छैन ।’
पर्यटन व्यवसायलाई पुनर्जिवित गर्न सरकारले भत्केका ऐतिहासिक संरचनाहरुको चाँडो भन्दा चाँडो पुननिर्माण गर्नुपर्ने र पर्यटनको प्रचार प्रसारमा विशेष जोड दिनुपर्ने क्षेत्रिय होटल संघका पूर्व अध्यक्ष हरिभक्त घिमिरेको भनाइ छ । 
‘ऐतिहासिक धरोहरहरुको पुनर्निर्माण मात्र गर्न सकियो भने पनि पर्यटकहरुको पुनः आगमन हुनेछ’ उनले भने, ‘पर्यटनको बारेमा प्रशस्त प्रचारप्रसार गरियो भने पनि पर्यटकहरु आउने क्रम सुुरू हुन्छ ।’