मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक पहिरोको खतरा

नारायणगढ–मुग्लिन सडक पहिरोको खतरा


चितवन । विनाशकारी भूकम्पपछिका लगातारको पराकम्पनका कारण देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ मुग्लिन सडकमा यो वर्ष ठूलो पहिरो जान सक्ने अनुमान गरिएको छ । 
चाइनिज र नेपाली भूगर्भ विशेषज्ञहरुको संयुक्त टोलीले राजमार्ग क्षेत्रभन्दा माथिका पहाड तथा चट्टानहरुको अनुसन्धान गरेर यस्तो निष्कर्ष निकालेको हो । अध्ययनका लागि सडक विभाग काठमाडौंले खटाएको प्राविधिक टोलीलाई डिभिजन सडक कार्यालय भरतपुरले समन्वय गरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर हरिप्रसाद पोख्रेलले राजमार्गभन्दा माथिल्ला भागमा रहेका चट्टानहरुमा देखिएको दरारका कारण पहिरोको जोखिम रहेको बताए ।
 
‘चाइनिज र नेपाली विशेषज्ञहरुको टोलीले पहिरोको जोखिम देखाएका छन्’, डिभिजन इन्जिनियर हरिप्रसाद पोख्रेलले भने, ‘तत्काल जोखिम क्षेत्रको मर्मत सुधार गर्न सकिएन भने यो वर्षादमा राजमार्गमा पहिरोले यात्रुलाई बढी दुःख दिने निश्चित छ ।’
 
भूकम्पले राजमार्गभन्दा माथिका पहाड तथा चट्टानहरुमा दरार पारेको छ । पृथ्वी राजमार्गको ८६ किलो मिटर खण्ड मुग्लिन–नौबिसे खण्ड र ३६ किलोमिटर नारायणगढ मुग्लिन सडकका ठाउँठाउँमा पहिरोको जोखिम छन् । 
विशेषतः भूगर्भविद्हरुले पृथ्वीराजमार्गको नौबिसेभन्दा २७ किलोमिटर पश्चिमको क्षेत्रमा अहिले ६० मिटर माथिबाट ढुंगाको फुस्रो पहिरो खसिरहेकाले यसलाई सबैभन्दा बढी जोखिमका रुपमा लिएका छन् । 
यस्तै, सोही राजमार्गको मुग्लिनभन्दा ५ किलोमिटर पूर्व डाहकी खोलानजिकै पनि अहिले सुख्खा पहिरो खसिरहेको छ । यो क्षेत्रमा पनि पहाड चिरिएकाले जोखिम छ । डिभिजन इन्जिनियर पोख्रेलका अनुसार वर्षौदेखि क्रोनिक समस्या बनेको कृष्णभिर, जोगिमारालगायतका क्षेत्रमा पनि पहिरोको जोखिम बढी नै  छ । कृष्णभीरको २५ मिटरमाथि पहाडमा दरार देखिएको छ । 
त्यसैगरी नारायणगढ मुग्लिन सडकखण्डको अवस्था पनि उस्तै छ । मुग्लिनदेखि १७ किलोमिटर पश्चिम नारायणगढतर्फको भूमागमा पहिरो खसिरहेको छ । नारायणगढ मुग्लिन सडककै काली खोला र नजिकै रहेको २ नम्बर पुलसँगैको चट्टान अहिले चिरिएको छ । काली खोलामा त अहिले पनि पहिरो पन्छाउँदै राजमार्ग खुलाउने गरिएको छ । 
‘दरार परेका पहाड तथा  चट्टान वर्षाद्सँगै खस्ने सम्भावना बढी हुन्छ’, डिभिजन इन्जिनियर पोख्रेलले भने, ‘अघिल्ला वर्षहरुका तुलनामा यो वर्ष राजमार्गको जोखिम बढी छ ।’
पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड आफैँमा पनि पहिरोको जोखिम क्षेत्र हो । राजमार्गसँगै बनाइएका ग्रामीण सडकहरुले यो क्षेत्र हरेक वर्ष पहिरोको जोखिममा परेको छ । डिभिजन सडक कार्यालय भरतपुरले निकालेको तथ्याङकअनुसार यो राजमार्गमा ७२ स्थानमा पहिरोको जोखिम छ । अहिलेको महाभूकम्पले यो जोखिमलाई थप टेवा दिएको बताइन्छ । 
‘हामी सबै क्षेत्रका पहिरोको जोखिम अहिले पर्ख र हेरको रणनीतिमा छाँै’, प्रमुख डिभिजन इन्जिनियर पोख्रेलले भने । सडक विभागका महानिर्देशक भइसकेका भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौला पनि अघिल्ला वर्षहरुका तुलनामा राजमार्ग बढी जोखिममा रहेको बताउँछन् । उनले भूकम्पकै कारण दरार परेका राजमार्गमाथिका चट्टानहरुको मर्मत सुधारका लागि मन्त्रालयसँग तत्कालका लागि कुनै योजना नभएको पनि बताए ।
‘वर्षाद अगाडि मर्मत सुधारका कुनै योजना छैनन् । पहिरो झ¥यो भने सफा गर्दै राजमार्ग खुल्दै जाने हो’, उनले भने । राजमार्गमा पहिरो खस्न सक्ने जोखिमलाई मध्यनजर गरेर राजमार्गका ठाउँठाउँमा उपकरणसहितको स्रोतसाधन तयारी अवस्थामा राखिएको पनि उनले जनाए । 
पृथ्वी राजमार्गसँग जोडिएको नारायणगढ मुग्लिन सडकखण्ड देशकै महत्वपूर्ण सडकमा पर्छ । राजधानीलाई देशका विभिन्न क्षेत्रसँग स्थलमार्गबाट जोड्ने यी सडक पहिरोले थुनिँदै गर्दा यातायात सञ्चालनमा त यसले अवरोध पु¥याउँछ नै राजधानी काठमाडाँैका बासिन्दालाई तराईबाट लगिने खाद्यान्न र तरकारीहरु पु¥याउन कठिन हुनेछ । 
 
सडकखण्ड स्तरोन्नति सुरू 
नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नति कार्य सुरू भएको छ । गत आर्थिक वर्षमा टेन्डर गरिए पनि प्रक्रिया नपुगेपछि खारेज गरी पुनः चालु आवमा निर्माण प्रक्रिया अगाडि बढाइएको हो । नेपाल–भारत पारवाहन तथा यातायात आयोजनाअन्तर्गत उक्त सडकखण्डको स्तरोन्नति थालिएको हो । योजनाका प्रमुख इञ्जिनियर शिवप्रसाद नेपालका अनुसार यस सडकखण्डलाई तीन भागमा विभाजन गरी तीन वटा कम्पनीमार्फत काम अगाडि बढाइएको हो ।
भरतपुरको आँपटारीचोकदेखि १० किलोमिटर मुग्लिनतर्फ जुगेडी पुलसम्म भारतीय कम्पनी बिएलए, नेपाली श्रेष्ठ कम्पनीले जुगेडी पुलदेखि ११ किलोमिटर मुग्लिनतर्फ तथा सिमलतालसम्म भारतीय कम्पनी उडहिल र नेपाली लामा कन्ट्रक्सनले काम थालेका छन् । सिमलतालदेखि मुग्लिनसम्मको सडकखण्ड भारतीय सुप्रिम र नेपाली रौताहा कन्ट्रक्सनले टेन्डर पारेसँगै सर्भे र मर्मतसम्भारको काम थालेको छ । 
कन्ट्रक्सन कम्पनीले क्याम्प निर्माण गरी उपकरणसमेत कार्यक्षेत्रमा लगिसकेको छ । सन् २०१७ को अप्रिलसम्ममा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । विश्व बैंकको दुई अर्ब ८५ करोड आर्थिक सहयोगमा सडक स्तरोन्नतिको काम थालिएको हो । 
सडक निर्माण गर्दा भौगोलिक बनावटअनुसारको प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले सामान्य खसेका पहिरो पन्छाउने र मर्मत गर्ने कामसमेत गर्ने छन् । उक्त सडकखण्डमा रहेका १८ वटा पुल भने यो ठेक्कामा पारिएको छैन । पुलको सर्भे भइरहेको र छिट्टै टेन्डर मार्फत पुल पनि चौडा पारिने छ । 
तराईबाट राजधानी प्रवेश गर्ने मुख्य सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डको गुणस्तर नराम्रो हुँदा समय समयमा सर्वसाधारणले समस्या झेल्दै आएका छन् ।