बिजनेस/ इकोनोमी

मौसममा सुधार आएपछि धौलागिरि आरोहण पुनः सुरू

मौसममा सुधार आएपछि धौलागिरि आरोहण पुनः सुरू


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

म्याग्दी । मौसममा सुधार आएपछि धौलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ । प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेको हो ।

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए ।

Advertisement

‘हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौँ’, उनले भने, ‘मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।’

८ देखि ११ असोजसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो । मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

‘हाल हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल छ’, उनले भने, ‘भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम छ ।’

शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

धौलागिरि आरोहण अनुमतिबापत ८२ लाख ४२ हजार ५० दस्तुर संकलन भएको पर्यटन विभागले जनाएको छ । पर्वतारोहीको समन्वय गर्दै आएका म्याग्दीको दानाका व्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका पर्वतारोहीको टोली पनि धौलागिरिको आधार शिविर पुगिसकेको बताए ।

गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए । छिनछिनमै परिवर्तन भइरहने मौसम धौलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहण बढी जोखिमपूर्ण, कठिन र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्विस–अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरि हिमालको शिखरमा पहिलोपटक पाइला राखेपछि आरोहण सुरु भएको थियो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरि शिखरमा पुगिसकेको विवरण छ ।

धौलागिरि हिमाल आरोहणका साथै पर्यटक ‘राउन्ड धौलागिरि’ पदयात्राका लागि पनि जाने गर्छन् । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धौलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर यो पदयात्रा नौ दिनमा टुङ्गिन्छ ।