नेपाल

अनलाइन जुवा र क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

अनलाइन जुवा र क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई विक्कीकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महतोलाई असोज २१ गते साँझ ५ बजे काठमाडौँ महानगरपालिका–११ मातातीर्थस्थित सडक खण्डबाट पक्राउ गरिएको हो ।

Advertisement

शंकास्पद अवस्थामा हिँडिरहेका महतोलाई नियन्त्रणमा लिएर उनको मोबाइल फोन जाँच गर्दा वानएक्सबेट र मोबक्यास एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी गरेको भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै, यूएसडीटी लगायतका अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा समेत उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ ।

प्रहरीले महतोलाई मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिएर अभौतिक मुद्रा तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।