काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार हुने भनिएको मतदान तेस्रोपटक सरेको छ । मतदानको तयारी पूरा नभएको भन्दै केन्द्रीय निर्वाचन समितिले मदतानको समय सारेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार अब मतदान शुक्रबार बिहान ७: ०० बजेबाट सुरू हुनेछ ।
यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै दिउँसो १ बजेसम्म सारिएको थियो। त्यसपछि २ बजेबाट मतदान हुने भन्दै निर्वाचन समितिले दोस्रोपटक समय सारेको थियो ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ ।
मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिए ।
उनका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने उनले बताए। उनले महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए ।












प्रतिक्रिया