नेपाल

जिपतया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ : राष्ट्रपति पौडेल

जिपतया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ : राष्ट्रपति पौडेल


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताएका छन् ।

जितिया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताए ।

Advertisement

राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान तथा परिवारजनको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै जिमुतवाहनको श्रद्धापूर्वक पूजा–आराधना गरी मनाइने महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।’

यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्व कालदेखि चल्दै आएको उनले उल्लेख गरे । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण हाम्रो मुलुकमा यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको बताए ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गरे ।