राजनीति-समाज

कांग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : डा शर्मा

कांग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : डा शर्मा


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गरेका छन् ।

शनिबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उनले कांग्रेसभित्र केही विवाद देखिए पनि पार्टी विभाजन नभएको दाबी गरेका हुन् । उनले कांग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफूहरूको रहेको बताए ।

Advertisement

महामन्त्रीमा विजयी भएमा सुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उनको भनाइ छ । उनले पार्टीभित्र आफू प्रो कोइराला रहेको बताए । उनले आफू बिपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली कांग्रेसको स्थापनामा महत्त्वपूर्ण योगदान गरेको बताए । मोरङमा बस्ने भएकाले आफू स्वाभाविकरूपमा कोइराला विचारसँग नजिक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘म बिपी कोइरालाको अनुयायी हो । गिरिजाबाबुको कार्यकर्ता हो । मोरङमा बस्ने मान्छेहरू प्रो कोइराला नै हुन्छन्, म प्रो कोइराला नै हो । यो स्वीकार्नलाई मलाई लाज छैन । यो पार्टीको स्थापना पनि कोइराला फ्यामिलीले नै गरेको हो । अहिले पार्टीको विरासत अथवा पार्टीको छवि खस्किएको अवस्था छ, यसलाई बरकरार राख्नको निम्ति हाम्रो उम्मेदवारी हो ।’

‘व्यक्ति महत्त्वपूर्ण होइन, कोइरालाको विचार, बिपी कोइरालाको विचार, गिरिजाबाबुको विचार, किसुनजी र गणेशमानजीको विचार बोकेर हिँड्ने हामीजस्ता हजारौँ कार्यकर्ता छन् । कांग्रेस फुटेको छैन । अलिअलि झमेला, झै–झगडा लोकतान्त्रिक पार्टीमा भइरहन्छ । यसलाई मिलाउने कर्तव्य हाम्रो हो, महामन्त्री भएपछि पहिलो काम पार्टी मिलाउनेमै हुन्छ’, उनले भने ।

सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा भने स्पष्ट नभएको उनले बताए । सभापतिमा उमेदवारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ । गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उमेदवारलाई आफ्नो समर्थन रहने उनले बताए ।

उनले भने, ‘अहिले सभापतिमा चाहिँ धेरै आकाङ्क्षीहरू हुन सक्छन्, कम आकाङ्क्षीहरू हुन सक्छन्, सर्वसम्मत हुन सक्छ, सबैभन्दा पहिला महामन्त्रीमा मेरो उम्मेदवारी घोषणा भइसकेको र सभापतिको उमेदवारी घोषणा हुन बाँकी रहेकोले सभापति घोषणा भइसके पछाडि युवाहरूलाई अथवा युवाहरूका विचारलाई गत वर्षको जेन–जी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने र लोकतन्त्रलाई बचाउन सक्ने युवा उमेदवारमध्येलाई मेरो समर्थन रहन्छ । अब उम्मेदवारी नै घोषणा नगरीकन फलानो हो म किन भन्ने ?’ उनले आफूले भने कुनै छुट्टै ‘टिम’ नबनाउने पनि बताए ।