काठमाडौँ । आइतबारदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने भएको छ । मौसमविद् विनोद पोखरेलले नेपालमा आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म वर्षाको क्रम जारी रहन सक्ने पूर्वानुमान गर्दै मौसमी प्रणाली सक्रिय हुने अनुमान गरेका हुन् ।
उनका अनुसार कमजोर पश्चिमी वायुको प्रभावका कारण माथिल्लो वायुमण्डलीय बहावसँगै नेपाल आसपास न्यूनचापीय रेखा बन्ने र त्यसको प्रभाव नियमित रूपमा सक्रिय हुने देखिएको छ ।
पोखरेलले आगामी दिनमा हुने वर्षा सामान्यतया हल्कादेखि मध्यम खालको हुनेछ। देशभर एकैपटक वा हरेक दिन सबै स्थानमा वर्षा नहुने र वर्षा मुख्यतः अपराह्नपछि सुरु भएर साँझसम्म रहने सम्भावना बढी रहेको बताए ।
उनले अक्टोबर ३–४ (असोज १७–१८) मा धेरै स्थानमा हल्का वर्षा हुन सक्ने बताएका छन् । आइतबारदेखि वर्षा केही सक्रिय हुँदै सोमबार र मंगलबार धेरै स्थानमा फैलिने सम्भावना रहेको उनको भनाइ छ । यस क्रममा केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने उनले बताएका छन् ।
त्यसपछि बुधबार वर्षा केही कम हुने तथा बिहीबार पहाडी भेगका केही स्थानमा पुनः हल्का वर्षा हुन सक्ने संकेत देखिएको पोखरेलले बताएका छन् ।
उनका अनुसार यो पूर्वानुमान विशेषगरी धान काट्ने तयारीमा रहेका किसान तथा पहाडी र हिमाली क्षेत्रमा हाइकिङ तथा ट्रेकिङमा जानेहरूका लागि उपयोगी हुन सक्छ । दैनिक कामका लागि बाहिर निस्कँदा जिल्लाअनुसारको वर्षा पूर्वानुमानको नक्सा हेरेर तयारी गर्न उनले सुझाव दिएका छन् ।












प्रतिक्रिया