काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले समयसँगै भ्रष्टाचारको स्वरूप, प्रवृत्ति र शैलीसमेत परिवर्तन हुँदै गएको बताएका छन्। बदलिँदो स्वरूपको भ्रष्टाचार नियन्त्रण गर्न आयोगले आफ्नो संस्थागत, प्राविधिक र अनुसन्धान पद्धतिमा समेत निरन्तर सुधार गर्दै लगेको उनको भनाइ छ।
आर्थिक वर्ष २०८२/८३ को आयोगको ३६औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारका नयाँ प्रवृत्ति देखिन थालेको बताएका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा प्रतिवेदन पेस गर्दै उनले गैरकानुनी लाभ वा हानि-नोक्सानी पुर्याउने, घुस-रिसवत लिने-दिने, सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी लाभ लिने तथा सरकारी राजस्व चुहावट गर्ने प्रवृत्ति देखिएको बताए।
उनका अनुसार गलत लिखत तथा प्रतिवेदन तयार गर्ने कार्यसमेत भ्रष्टाचारका रूपमा देखिएको छ।
जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वसक्रिय अनुसन्धान
प्रमुख आयुक्त राईले अनुसन्धानलाई थप वैज्ञानिक र नतिजामुखी बनाउन जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वसक्रिय अनुसन्धान प्रणाली अवलम्बन गर्न थालिएको जानकारी दिए।
तथ्यहीन तथा दोहोरिने प्रकृतिका उजुरीले अनुसन्धान प्रक्रियामा पार्ने चाप घटाउन उजुरी स्क्रिनिङ प्रणालीमार्फत प्रारम्भिक चरणमै उजुरीको वस्तुनिष्ठ वर्गीकरण गरी आवश्यक निर्णय गर्ने व्यवस्था मिलाइएको उनले बताए।












प्रतिक्रिया