बिजनेस/ इकोनोमी

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ ।

पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा रोकिएका छन् ।

Advertisement

पर्यटक बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपानेले कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताए । उनले भने, “राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालन हुन सकेका छैनन्, यसको प्रत्यक्ष मार पर्यटक र हामी व्यवसायीमा परेको छ ।”

चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला सवारीसाधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसायी तथा मजदुर मर्कामा परेका छन् । भन्छन्, “पर्यटक बस ठूला छन्, सानो बाटोमा सञ्चालन गर्दा घुम्ती पुग्दैन, त्यसैले सञ्चालन गर्न पाएका छैनौ ।” राजमार्ग अवरुद्ध भएर पर्यटक बसलगायतका सार्वजनिक सवारीसाधन आवागमनमा प्रभावित भइरहेका बेला हवाई यात्रुको चाप बढेको छ । कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ आउने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । तर वर्षायाममा सडकको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन् ।

पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढेको छ । काठमाडौँबाट पोखराका लागि दैनिक छ उडान भर्दै आएको यती एयरलाइन्सले पृथ्वी राजमार्ग अवरुद्ध भएर यात्रुको चाप बढेसँगै दैनिक उडान सङ्ख्या थप गरेको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले कृष्णभीरको पहिरोका कारण बाटो अवरुद्ध हुँदा अधिकाशं यात्रुको रोजाई हवाइजहाज भएको बताए । उनी भन्छन्, “भोटेकोशी बाढी अगाडिको तुलनामा त्यसपछिको दिनमा हवाइजहाजमार्फत काठमाडौँबाट पोखरा जाने यात्रुको सङ्ख्यामा ५० प्रतिशत बढेको छ ।”

यती एयरलाइन्सले बाढी अगाडि दैनिक पोखरा छ उडान भर्दै आएकोमा त्यसपछि भने उडानको सङ्ख्या दैनिक १० बनाएको प्रवक्ता बर्तौलाको भनाइ छ । हवाइजहाजमार्फत चितवनको भरतपुरबाट काठमाडौँ आउने तथा काठमाडौँबाट भरतपुर जाने यात्रुको सङ्ख्यासमेत बढेको छ । भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् ।

बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या दोब्बर बनाइएको छ । हाल काठमाडौँबाट भरतपुर दैनिक ९ देखि ११ उडान हुँदै आएका छन् । भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन् । बाढीले क्षति पुर्याएको कृष्णभीर सडकखण्डमा भने नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ । मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटा दिनरात नभनी नयाँ ट्रयाक खन्ने काम भइरहेको बताए ।

“हामीले दिनरात नभनी नयाँ बाटो खोल्ने काम गरिरहेका छौँ, नयाँ बाटो चाँडै नै सञ्चालनमा ल्याउने तयारी छ”, उनी भन्छन् । उक्त राजमार्ग नखुल्दा यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । नियमित मार्ग सञ्चालनमा नआउँदा यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिम र थप सास्ती खेप्नुपरेको छ ।