चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा सोमबार भदौ २२ गतेदेखि दैनिक १० घन्टा सवारी साधनको आवागमन आंशिकरूपमा रोकिने भएको छ ।
तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनका अनुसार बिहान ६ः०० बजेदेखि ८ः०० बजेसम्म, बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ः०० बजेसम्म, दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म र अपराह्न ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सडक बन्द रहनेछ ।
यसैगरी, बिहान ८ः०० बजेदेखि ८ः३० बजेसम्म, बिहान १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ः०० बजेदेखि १ः३० बजेसम्म, दिउँसो ३ः३० बजेदेखि ४ः०० बजेसम्म र साँझ ६ः०० बजेपछि सडकमा सवारी आवागमन खुला रहनेछ ।
हाल मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मतको काम भइरहेकाले नयाँ ट्र्याक खोलेर आवागमन सहज बनाउन केही समय लाग्ने भएको छ । सोही कारण नारायणगढ–मुग्लिन सडकमा समेत सवारी साधनको चाप कम रहेकाले यही समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले तोकिएको कार्यतालिकालाई ध्यानमा राखेर मात्रै यात्रा तथा सवारी सञ्चालनको योजना बनाउन यात्रु र चालकलाई अनुरोध गरेका छन् ।












प्रतिक्रिया