काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बेलुकी ८ः०० बजेसम्म १ हजार ३५० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
जसमध्ये रसुवामा १६३, नुवाकोटमा १९४, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२ र नवलपरासी पश्चिममा २३० जना गरी १ हजार ३५० जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हाल सम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ९७२ गरी कुल २ हजार २३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६५५ जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया