नेपाल

बाढीमा बेपत्ताको पहिचान गर्न प्रहरी अस्पतालमा डिएनए परीक्षण सुरू

बाढीमा बेपत्ताको पहिचान गर्न प्रहरी अस्पतालमा डिएनए परीक्षण सुरू


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएका तथा पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि नेपाल प्रहरीले आफन्तहरूको रगत सङ्कलन गरी डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरी अस्पताल, पानीपोखरीमा सञ्चालन गरिएको डिएनए नमुना सङ्कलन अभियानअन्तर्गत बुधबार दिउँसो १२ बजेसम्म ७८ जनाको रगत सङ्कलन गरिएको प्रहरीले जनाएको छ । सङ्कलित नमुनामध्ये ६५ जना नेपाली र १३ जना विदेशी नागरिकका आफन्तका नमुना रहेका छन् ।

Advertisement

बाढीमा बेपत्ता भएकाहरूको शव फेला परे पनि धेरै शव क्षतविक्षत् वा चिन्न नसकिने अवस्थामा रहेका कारण वैज्ञानिक विधिबाट पहिचान गर्न डिएनए परीक्षण सुरू गरिएको हो ।

प्रहरीका अनुसार सङ्कलित रगतका नमुनालाई फेला परेका शवबाट सङ्कलन गरिएका जैविक नमुनासँग मिलान गरेर मृतकहरूको पहिचान गरिने छ । यस प्रक्रियाले बेपत्ता व्यक्तिको यकिन पहिचान गर्न र परिवारलाई जानकारी गराउन सहयोग पुग्नेछ ।

रसुवामा आएको भीषण बाढीले मानवीय क्षतिसँगै भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ । बेपत्ता व्यक्तिको खोजी, उद्धार र शव पहिचानको काम सम्बन्धित निकायहरूले निरन्तर जारी राखेका छन् ।