नेपाल

चितवनमा बाढीपछि भेटिएका शव ३२१ पुगे, २८० बेवारिसे शव व्यवस्थापन

चितवनमा बाढीपछि भेटिएका शव ३२१ पुगे, २८० बेवारिसे शव व्यवस्थापन


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

चितवन । रसुवाको भोटेकोशी बाढीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवनसम्म आइपुगेका शव फेला पर्ने क्रम जारी छ । चितवनमा हालसम्म ३२१ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेका शवमध्ये १२ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका ११ पुरुष र एक बालिकाको शव आफन्तले बुझिलगेका छन् । पहिचान हुन नसकेका अन्य शवलाई आवश्यक प्रक्रिया पूरा गरी देवघाट क्षेत्रमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

Advertisement

चितवन प्रहरीले दिएको विवरणअनुसार सोमबार मात्रै ८१ वटा बेवारिसे शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमा १३ महिला, १६ पुरुष, दुई बालिका, चार बालक तथा ४६ वटा अन्य शव छन् ।

यसअघि भदौ १३ गते ९६ र भदौ १४ गते १०३ वटा बेवारिसे शव व्यवस्थापन गरिएको थियो । सोमबार थप ८१ शव व्यवस्थापन भएसँगै चितवनमा हालसम्म देवघाट क्षेत्रमा व्यवस्थापन गरिएका बेवारिसे शवको संख्या २८० पुगेको छ ।

चितवनमा फेला परेका कुल ३२१ शवमध्ये ११६ पुरुष, ६६ महिला, सात बालक, छ बालिका र १२६ जना अन्य रहेका छन् ।

पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले खोजी गर्दा सहज होस् भन्ने उद्देश्यले शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ । साथै, प्रत्येक शवलाई निश्चित संकेत नम्बर दिएर अभिलेख राख्दै देवघाट क्षेत्रको जंगलमा डोजरको प्रयोग गरी जमिनमुनि व्यवस्थापन गरिएको छ ।

यसरी शव व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिल्याउन र आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने बताइएको छ ।