नेपाल

चीनले पठायो दोस्रो चरणको आपत्कालीन मानवीय सहायता सामग्री

चीनले पठायो दोस्रो चरणको आपत्कालीन मानवीय सहायता सामग्री


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । बाढी प्रभावितका लागि चिनियाँ सरकारले उपलब्ध गराएको थप आपत्कालीन मानवीय सहायता सामग्री मंगलबार दिउँसो दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनबाट नेपाल ल्याइएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सहायता सामग्री चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो क्षमताको ढुवानी विमानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। सेन्जेनका पाँच जना विज्ञ पनि सोही विमानबाट नेपाल आएका छन्। उनीहरूले नेपालमा जारी उद्धार अभियानमा सहभागी हुनेछन् ।

Advertisement

यो सामग्री पहिरोबाट प्रभावित नेपाललाई चीनले उपलब्ध गराउँदै आएको थप आपत्कालीन मानवीय सहयोगको निरन्तरता हो।

चीनको वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार यो नेपाललाई चीनले उपलब्ध गराएको दोस्रो चरणको सहायता हो। करिब ५.८ टन तौलको सामग्रीमा तत्काल आवश्यक पानी शुद्धीकरण तथा प्रकाश उपकरण, डीएनए परीक्षणका उपकरण र ड्रोन समावेश छन् ।

चिनियाँ परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सारको सामान्य प्रशासन तथा चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीचको समन्वयमा ती सामग्री तत्काल जुटाएर रातारात विमानस्थल पुर्‍याइएको थियो।

सेन्जेन बाओआन विमानस्थल भन्सारका एक अधिकारीका अनुसार राहत सामग्रीका लागि तत्कालै ‘ग्रिन च्यानल’ खोलिएको थियो। सामग्री व्यवस्थापनका लागि छुट्टै कर्मचारी परिचालन गर्नुका साथै कागजातको अग्रिम समीक्षा र भन्सार जाँच प्रक्रियालाई समेत सरल बनाइएको थियो।

यी व्यवस्थाका कारण राहत सामग्रीको जाँच तथा भन्सार प्रक्रिया छिटो पूरा गरी सेन्जेनबाट समयमै पठाउन सम्भव भएको र त्यसले सामग्रीलाई सकेसम्म चाँडो विपद् प्रभावित क्षेत्रमा पुर्‍याउन सहयोग गरेको अधिकारीले बताएका छन्।

सेन्जेन विमानस्थलले पनि सुरक्षा जाँच, सामग्री लोडअनलोड तथा प्यालेट बनाउने कामको समन्वयका लागि विशेष कार्यदल गठन गरेको थियो ।