बिजनेस/ इकोनोमी

बाढीपहिरोका कारण ४० किलोमिटर सडक ध्वस्त, ३१ पुल क्षतिग्रस्त

बाढीपहिरोका कारण ४० किलोमिटर सडक ध्वस्त, ३१ पुल क्षतिग्रस्त


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । सडक विभागले रसुवा बाढीपछि प्रभावित राजमार्गहरू, वैकल्पिक मार्ग तथा पुल व्यवस्थापनमा गम्भीर भएर काम गरिरहेको जनाएको छ ।

विभागले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर बाढीपछि अवरुद्ध भएका सडकको मर्मत, वैकल्पिक मार्ग तथा पुल व्यवस्थापनमा गम्भीर भएर काम गरिरहेको जनाएको हो ।

Advertisement

विभागका महानिर्देशक विजय जैसीले गल्छी, बैरेनी, जरिखेत, पोखरे, बाङ्गे र गलौंदी खण्डमा करिब २–३ मिटर बाक्लो लेदो जम्मा भएको र नयाँ प्रविधिको चुनौतीका बाबजुद सफलतापूर्वक सडक खुलाइएको जानकारी दिए ।

सडक मर्मतका लागि सडक बोर्डको आपतकालीन बैठकबाट आकस्मिक कामका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
रसुवा बाढीका कारण हालसम्म सडक विभाग मातहतका ३१ वटा पुलहरू बगेको वा क्षतिग्रस्त भएको विभागले जनाएको छ ।

महानिर्देशक जैसीकाअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ ।

यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ ।

देवीघाट, त्रिशूली बजार र बेत्रावती गरी ३ स्थानमा तत्काल बेलीब्रिज राख्न डिजाइन सम्पन्न गरी काम थालिएको र बाँकी करिब २० स्थानमा सर्वेक्षण भइरहेको महानिर्देशक जैसीले बताए ।

धादिङबेँसीको पहुँचका लागि मासटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–केउरिनीघाट हुँदै वैकल्पिक मार्ग खोलेर धादिङबेँसीसँग सडक सम्पर्क पुनः कायम गरिएको विभागले जनाएको छ ।

त्रिशूली बजार पहुँचका लागि गल्छी–कलेरीटार–कौशीखोला–पिपलटार–दर्शनटार–छत्रेखोला–गौरीबेँसी हुँदै वैकल्पिक सडक सञ्चालनमा ल्याइएको र मासटार–धादिङबेँसी–गोरखा बजार हुँदै पोखरा जोड्ने वैकल्पिक मार्गको सम्भावना खुला गरिएको विभागका महानिर्देशक जैसीले बताए ।

त्यस्तै कृष्णभीरमा भित्तातर्फ काटेर सडक खोल्ने विषयमा जियोटेक्निकल विज्ञहरूसँग छलफल भइरहेको र फिस्लिङ र बेनिघाट जोड्न करिब १.५ कि।मी। नयाँ ट्र्याक खोल्ने काम अघि बढाइएको विभागको भनाइ छ ।

उपत्यकामा पेट्रोलियम पदार्थ र ग्यास ढुवानीका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथ दुवैलाई उच्च निगरानीमा राखेर ट्यांकर तथा बुलेटहरूको आवागमन सहज बनाइएको समेत विभागले जानकारी दिएको छ ।