काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार र राहत कार्यमा प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
सोमबार विपद् व्यवस्थापनबारे फेसबुकमार्फत ब्रिफिङ सार्वजनिक गर्दै उनले विपद् व्यवस्थापनमा संघीय सरकारलाई तल्लो तहका सरकारहरूले दिएको साथ र समन्वय निकै महत्त्वपूर्ण रहेको बताएका हुन्
राहत वितरणमा स्थानीय सरकारको सक्रियताले ३ हजार ६९६ प्रभावित नागरिकसम्म सामग्री पुगेको उनले उल्लेख गरे । ‘स्थानीय र प्रदेश सरकारको साथले गर्दा नै अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको व्यवस्थापन सहज भएको छ,’ उनले भने ।
६ अर्ब ३६ करोड रकम संकलन
रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत दिएको जानकारी अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा भएको हो ।
प्रधानमन्त्री राहत कोषमा आज दिउँसोसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले लेखेका छन् ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । जुन नेपाल राष्ट्रबैंकको सोमबारको विनिमय दर अनुसार करिब ४८ करोड ६३ लाख ६२ हजार ८० नेपाली रुपैयाँ हुन आउँछ । दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ ।












प्रतिक्रिया