काठमाडौँ । चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् ।
राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसद्का सदस्य धर्म केसीको उपस्थिति रहेको थियो ।
सो अवसरमा राजदूत माओमिङले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुका साथै नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरे । राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणहरू समेत नेपाल आइपुगेका छन् । चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू करिब तीन घण्टाको उडानपछि काठमाडौँ अवतरण गरेका थिए ।
प्राप्त सामग्रीहरूमा पाल, कम्मल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किट गरी कुल १३ हजार २ सय थान सामग्रीहरू रहेका छन्, जसको कुल वजन ५० टन रहेको छ ।












प्रतिक्रिया