राजनीति-समाज

बाढीको जोखिम कायमै, सतर्कता अपनाउन आग्रह

बाढीको जोखिम कायमै, सतर्कता अपनाउन आग्रह


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ ।  चीनतर्फ भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको पानीको सतह बढिरहेको सूचना प्राप्त भएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दा, यात्रु र उद्धारमा खटिएका जनशक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

चीनले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराएको पछिल्लो सूचना, भू–उपग्रहबाट प्राप्त तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ । उक्त ताल निरन्तर बढिरहेको र फुट्न सक्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारकर्ता तथा सम्बन्धित सबै पक्षलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत महाशाखाले आग्रह गरेको छ ।

भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रबाट अर्को बाढी आउन सक्ने उच्च जोखिम देखिएकाले नेपाल र चीन दुवैतर्फ सतर्क रहन विज्ञहरूले जोड दिएका छन् ।

नेपाल तथा चीनका विज्ञहरूबीच उक्त क्षेत्रमा सम्भावित जोखिम र न्यूनीकरणका उपायबारे गम्भीर छलफल भइरहेको छ ।

चीनमा रहेका नेपालका विपद् विज्ञ वसन्तराज अधिकारीका अनुसार हिमनदीको मुहानको ठूलो हिस्सा खसेर बनेका खाल्टामा ताल बनेको छ । पानी भरिएर विस्फोट भयो भने अर्को बाढी आउने प्रबल सम्भावना रहेको उनले औँल्याए ।

उनी भन्छन्, ‘माथिबाट हिउँको ढिक्कासहितको पहिरो बजारिँदा नदी छेउमै बनेका खाल्टाखुल्टीमा पानी जमेको देखिएको छ । वरिपरि बुधबारको बाढीले कच्चा ड्याम सिर्जना गरेको छ । पानी भरिएको खण्डमा त्यो फुटेर बाढी आउने जोखिम कायमै छ ।’ बुधबार लेदोसहितको बाढी ल्हेन्दे खोला हुँदै नेपालको भोटेकोशीमा मिसिएको थियो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलस्रोतविज्ञ राजेन्द्र शर्माले पनि उक्त क्षेत्रमा पोखरीमा पानी जमेको पुष्टि गरेका छन् ।

प्राधिकरणको उच्चस्तरीय टोली र चिनियाँ पक्षबीच बिहीबार उक्त विषयमा छलफल भएको छ । नेपाल र चीन दुवैतर्फ भविष्यमा सम्भावित क्षति हुन नदिन सतर्कता अपनाउनुपर्नेमा दुई देशका टोली सदस्यहरूले जोड दिएको उनले जानकारी दिए ।

चिनियाँ पक्षले दिएको जानकारी दिँदै उनी भन्छन्, ‘चट्टानसहित हिउँको ढिक्का खसेको स्थानमा बिहीबार दिउँसोसम्ममा २० लाख घनमिटर पानी जम्मा भइसकेको अवस्था छ, माथिबाट थप ३० लाख घनमिटर पानी खसेर जम्मा हुने सम्भावना उच्च छ ।’ उक्त मात्रामा पानी जमेको खण्डमा पोखरी फुटेर अर्को बाढी निम्तिन सक्ने उच्च सम्भावना छ । त्यसैले नदीतटीय क्षेत्रमा रहने सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।