बिजनेस/ इकोनोमी

भोटेकोशी बाढीबाट १५ जलविद्युत् आयोजनामा क्षति

भोटेकोशी बाढीबाट १५ जलविद्युत् आयोजनामा क्षति


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणतर्फ ठूलो क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा कुल ४ सय ३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन्न विद्युत् संरचनामा क्षति पुगेको छ।

Advertisement

साथै, प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन कुल ४ सय ७० मेगावाट क्षमताका १५ वटा आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण बन्द भएका उत्पादन केन्द्रमा रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुंगी (सान्जेन) जलविद्युत् आयोजना ७८ मेगावाट छन् । 

माथिल्लो सान्जेन जलविद्युत् आयोजना १४.५ मेगावाट, सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट, चिलिमे जलविद्युत् केन्द्र २२ मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजना ६० मेगावाट, माथिल्लो मेलुङ जलविद्युत् आयोजना १४.५ मेगावाट, मेलुङ जलविद्युत् आयोजना ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट पनि बन्द छ । 

देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना २५ मेगावाट रहेका छन्। बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा अन्य जनशक्तिसमेत सम्पर्कविहीन भएका छन्।

निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत त्रिशूली जलविद्युत् कम्पनीका २१ जना कर्मचारी सम्पर्कबाहिर रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्रमा रहेका १ जना सम्पर्कबाहिर छन्। चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेरको कम्पनीबाट खटिई निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत ११ जना पनि सम्पर्कबाहिर रहेको जनाइएको छ।

चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन छन्। त्यस्तै, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत १/१ जना कर्मचारी पनि सम्पर्कबाहिर छन्। रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्विचयार्डमा काम गर्ने एक जना कर्मचारी सम्पर्कबाहिर रहेको र सोही वितरण केन्द्रका गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ।

यसैगरी, त्रिशूली २२० केभी ३ बी हब सबस्टेसनमा ठेकेदारको तर्फबाट कार्यरत १६ जना पनि सम्पर्कविहीन छन्। वितरण प्रणालीमा पनि ठूलो क्षति बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखा जिल्लामा भने आंशिक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जम्मा भएकाले डोजर प्रयोग गरी सफाइ कार्य भइरहेको छ। विभिन्न स्थानका ११ केभीका पोलहरू तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ। प्रसारण लाइनमा पनि क्षति बाढीका कारण त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसनमा पूर्णरूपमा क्षति पुगेको छ।

चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ भने समुन्द्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएको छ। त्यस्तै, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन र त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन्।

केही प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ। उद्धार तथा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशकसहितको टोली प्रभावित क्षेत्रमा अनुगमन गरी फर्किएको छ। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशील रहेको छ।

सम्पर्कविहीन कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरूको विवरण संकलन, खोजी तथा उद्धार भइरहेको छ।

वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानमा आंशिक रूपमा विद्युत् प्रणाली सञ्चालन गर्ने प्रयास भइरहेको छ। यस क्रममा सिन्धुपाल्चोकतर्फ समुन्द्रटार क्षेत्रमा प्रणाली चालु भई चौतारा सबस्टेसन सञ्चालनको प्रयास गरिएको छ। गुर्जुदेखि गञ्जीसम्मका क्षेत्रमा धादिङबेसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।

सम्भव भएका क्षेत्रमा पेट्रोलिङ गर्दै मर्मत गरी लाइन सुचारु गर्ने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ। विद्युत् प्रणालीलाई सुचारु राख्न ग्रिड सञ्चालन विभाग, विद्युत् प्रणाली सञ्चालन विभाग र सम्बन्धित वितरण केन्द्रलाई आवश्यक निर्देशन दिइएको तथा ती कार्यालयहरू प्रणाली सुधारका लागि क्रियाशील रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सबै कर्मचारी तथा सर्वसाधारणलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राधिकरणबाट जारी निर्देशन पालना गर्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।