राजनीति-समाज

रसुवा बाढीबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

रसुवा बाढीबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहको संवाद सचिवालयले बुधबार जारी गरेको सन्देशमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा बेपत्ताको खोजी कार्यलाई तत्काल तीव्रता दिन आग्रह गरिएको छ ।

Advertisement

सन्देशमा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ हिमताल फुटेर आएको बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख छ ।

बाढीबाट बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना तथा खेतीपातीमा समेत ठूलो क्षति पुगेको भन्दै पूर्वराजा शाहले दुःख व्यक्त गरेका छन् ।

विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सन्देशमा सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकको तत्काल खोजी कार्यलाई तीव्रता दिन आवश्यक रहेको उल्लेख गरिएको छ ।

‘प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछौं,’ सन्देशमा भनिएको छ ।

पूर्वराजा शाहले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आमनागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।

उनले सीमासँग जोडिएका छिमेकी मुलुकमा हुने प्राकृतिक विपत्तिको प्रभाव अर्को मुलुकमा समेत पर्न सक्ने भन्दै यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि त्रिदेशीय संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
‘अलग–अलग प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयासमार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई हामी सबैले मनन गर्न आवश्यक देखिएको छ,’ सन्देशमा उल्लेख छ ।