काठमाडौँ । रसुवामा तिब्बतबाट आएको बाढीका कारण विभिन्न वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीका कारण ८ वटा बैंकका शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा कार्यरत २६ कर्मचारीको अवस्था अहिलेसम्म जानकारी हुन सकेको छैन । बाढीका कारण ती शाखा कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको उनले बताए ।
‘टिमुरे, स्याफ्रुबेँसी लगायतका स्थानमा रहेका शाखामा क्षति पुगेको छ । सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका हुन्,’ शर्माले भने ।
बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको शर्माले जानकारी दिए । बाढीबाट प्रभावित क्षेत्रमा वाणिज्य बैंकका ९ वटा शाखामा क्षति पुगे पनि कर्मचारी भने ८ शाखाका सम्पर्कविहीन भएका हुन् ।
बाढीका कारण शाखा कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । यद्यपि, भौतिक क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ ।
शर्माका अनुसार अहिले बैंकहरूको पहिलो प्राथमिकता सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लगाउनु हो । कर्मचारीको अवस्थाबारे यकिन भएपछि मात्रै बैंकका शाखा तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ ।
बाढी प्रभावित क्षेत्रमा पुग्न सक्ने अवस्था नरहेको र फोन तथा इन्टरनेटका टावरहरूमा समेत क्षति पुगेकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको उनले बताए ।
यसैबीच, सोही क्षेत्रमा रहेका विकास बैंकका शाखामा भने हालसम्म कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।












प्रतिक्रिया