काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको हो।
उपसभामुख अप्सरा चापागाईँले प्रस्तावको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको घोषणा गरिन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले मुख्यमन्त्री थापामगरलाई समर्थन गरेका हुन्।
नेकपाका २६, एमालेका उपसभामुखसहित २५ र राप्रपाका सात सांसद सरकारको पक्षमा उभिएका थिए। मतदानमा भने उपसभामुख सहभागी नभएकाले विश्वासको मतको पक्षमा कुल ५७ मत कायम भएको हो।
राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिएका छन्।
सरकार गठन तथा मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र मतभेद देखिएको थियो। प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेका संसदीय दलका नेता उद्धव थापासहित मन्त्री बनेका तीन जनालाई राप्रपा केन्द्रीय नेतृत्वले कारबाही गरेको छ।












प्रतिक्रिया